अवैध रूपमा भारत छिरेर हाउस किपिङमा काम गरिरहेका व्यक्तिले सैफ अली खानलाई चक्कु हानेका थिए
काठमाडौं : बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
मोहम्मद सरीफुल अस्लाम असजादलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।
आरोपीको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद भएको बताइएको छ। आरोपी अवैध रूपमा भारत छिरेको अनि यहाँ आएपछि नाम फेरेको प्रहरीले बताएको छ।
उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। बंगलादेशी नागरिक भएको हुनसक्ने प्रहरीले जनाएको छ। तर, उनीसँग पासपोर्ट वा अरू कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ।
पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, 'आरोपित बंगलादेशी भएको आशंका गरिएको छ र उनीसँग भारतीय कागजातहरू छैनन्।'
गेदमका अनुसार आरोपी अवैध तरिकाले भारत आएका थिए। विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए।
उनलाई आज अदालत पेस गरिँदै छ।
ती व्यक्ति चोरी गर्ने उद्देश्यले खानको घरमा छिरेको भनिएको छ। त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो। उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको थियो। शल्यक्रियापछि सैफ अली अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
माघ ६, २०८१ आइतबार ११:१४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।