एनपिएलमा कमजोर प्रदर्शन गरेका सन्दीपको क्रिकेटबाट सन्यास लिने संकेत!

एनपिएलमा कमजोर प्रदर्शन गरेका सन्दीपको क्रिकेटबाट सन्यास लिने संकेत!

काठमाडौं : नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिनसक्ने संकेत गरेका छन्। 

शनिबार राति उनले फेसबुकमा एक भावुक स्टाटस लेख्दै सबैलाई धन्यवाद भनेका छन्। त्यसपछि उनका फ्यानहरूले सन्दीपले क्रिकेटबाट सन्यास लिन आँटेको अड्कन गरिरहेका छन्। 

पोस्टमा उनले क्रिकेटबाट सन्यास लिएको भनेर नखुलाए पनि आशय चाहिँ त्यस्तै छ। उनका फ्यानहरूले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना भनिरहेका छन्। प्रतिक्रिया हेर्दा पनि धेरैले उनले सन्यासको संकेत गरेको अर्थमा बुझेको देखिन्छ।

उनले फेसबुकमा लेखेका छन्, ‘...यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए। तर, त्यसमा उनले औसत मात्रै प्रदर्शन गर्न सके। 

त्यसअघि पनि नेपाल प्रिमियर लिग एनपिएलमा उनले कमजोर प्रदर्शन गरेको भनेर आलोचना भएको थियो। उनले कप्तानी गरेको विराटनगर किंग्स प्लेअफ नै नपुगी बाहिरिएको थियो।  

त्यसो त यसअघि बलात्कार प्रकरणमा जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा भइसकेका छन्। पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः क्रिकेटमा फर्केका हुन्।

तर, त्यसयता भएको आइसीसी विश्वकप होस् वा एनपिएलदेखि जय ट्रफीसम्म आइपुग्दा उनको प्रदर्शन सम्झनालायक छैन।  

माघ ६, २०८१ आइतबार ०८:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।