नेता जति सबै चोर हुन् भन्दै विद्युत् प्राधिकरणका चालकले कोशीका पूर्वमुख्यमन्त्री थापालाई कुटे
काठमाडौँ : भिआइपीको गाडीको हो भन्दै बाटोको अवरोध हटाउन खोज्दा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा कुटिए। शनिवार एक कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापालाई कुटेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी पक्राउ परेका छन्।
घटनाबारे जानकार प्रहरीका अनुसार कोशी कांग्रेस प्रदेश सभापति र संसदीय दलका नेता रहेका थापा पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा फर्कँदै थिए। सडक जाम भयो। अगाडि नेपाल विद्युत् प्राधिकरणको गाडी थियो।
पिएसओले भिआइपीको गाडी हो भन्दै बाटो छाड्न आग्रह गरे पनि प्राधिकरणका चालकले मानेनन्। गाडीमा पूर्वमुख्यमन्त्री छन् भनेपछि चालक झन् रिसाए।
चालक गाडीबाट निस्किएर देश लुट्ने नेता यिनै हुन् भन्दै थापालाई मुक्का हानिहाले। थापाको आँखोभौको भाग फुटेर रगत बग्न थाल्यो। उनलाई बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा ल्याएर उपचार गरिएको थियो।
प्रहरीका अनुसार थापालाई कुटेको आरोपमा ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ पक्राउ परेका छन्।
माघ ५, २०८१ शनिबार २२:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।