फिल्म एक्टर : टेक वान : थिम पोस्टर जवानको, ट्रेलर ‘टेनेट’ बाट अनि कथा चैँ कताबाट?

फिल्म एक्टर : टेक वान : थिम पोस्टर जवानको, ट्रेलर ‘टेनेट’ बाट अनि कथा चैँ कताबाट?

काठमाडौँ : सन् २०२० मा रिलिज भएको फिल्म ‘टेनेट’ अमेरिकी एक्सन थ्रिलर जनराको थियो। क्रिस्टोफर नोलनले लेखन र निर्देशनमा बनेको फिल्मको मुख्य भूमिकामा जोन डेभिड वासिङ्टन, रबर्ट प्याटिन्सन र एलिजाबेथ डेबिकी छन्।

एक गुप्त एजेन्टको वरिपरि घुमेको कथामा पात्र विश्व युद्ध रोक्न समयको विपरीत दिशामा यात्रा गर्ने प्रविधि (टेम्पोरल इन्भर्जन) को प्रयोग गर्छ। यो एक जटिल कथा हो जसमा समय  र जासूसी कथाको मिश्रण थियो।

अब सन् २०२५ को अर्को फिल्म एक्टर : टेकवानको कुरा गरौँ। रिलिजको तयारीमा रहेको यो नेपाली फिल्मको मुख्य कलाकारका रूपमा छन् प्रदीप खड्का जसलाई फिल्म निर्माण टिमले ट्रेलरमै सुपरस्टार ट्याग दिएका छन्। अन्यमा दिव्या रायमाझी, आना शर्मा, राज वल्लभ कोइराला लगायतका कलाकार छन्।

हलिउड अनि नेपाली फिल्म दाँज्ने समय भइसकेको छैन। तर यी दुई फिल्मबिच एक समानता भने देखियो ट्रेलरमा। ट्रेलरमा प्रयोग गरिएको फिल्मको सिक्वेल कटिङ, ब्याकग्राउन्ड म्युजिकको प्रयोग अनि एक्टर भन्ने शैलीमा प्रयोग भएको म्युजिक हेर्ने/सुन्ने हो भने उस्तै-उस्तै देखिन्छ/सुनिन्छ।

दुवै फिल्मको कथा भिन्न रहेको त फिल्मको ट्रेलरबाटै देखिन्छ। तर ट्रेलरको प्रिजेन्टेशन अनि यसमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिक भने उस्तै उस्तै सुनिन्छ कतिपय ठाउँमा। ट्रेलर निर्माणको थिम हेर्ने हो भने प्रभावित भएको वा संयोग परेको मात्र हो भन्न सकिने अवस्था देखिएन।

यो पनि : 

‘टेनेट’ र एक्टरबीचको अर्को समानता दुवै क्राइम जनरामा बनेको देखिन्छ। दुई युवतीसँग एकै पटक सम्बन्धमा रहेको युवाको कथा भन्दै गएर सुन अनि प्रहरी हुँदै कतै बन्धक बनाएर राखिएको खड्काको क्यारेक्टरले यो पनि सस्पेन्स थ्रिलर जनराकै कथामा बनेको फिल्म त हैन भन्ने सङ्केत देखाएकै छ।

मुख्य भूमिकामा रहेका अभिनेता खड्काको पहिलो थिम क्यारेक्टरको पोस्टर सार्वजनिक गर्दा नै त्यो भारतीय फिल्म जवानबाट प्रभावित हैन कि सिधै चोरिएको देखिएकै हो। ट्रेलरमा पनि जवानको दृश्य सम्झाउने दृश्यहरू राखिएकै छन्।

यसले कतै यो फिल्म पनि यता र उताबाट तानतुन र चोरचार गरेर बनाइएको त हैन भन्ने शङ्का उब्जाउने ठाउँ प्रशस्तै देखायो पहिलो ट्रेलरले नै।

शुक्रवार ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रम तीन घण्टा ढिला हुनुको कारण ट्रेलर कटिङ नै समयमा नसकिँदा हो भन्ने गाइँगुइँ चलेको थियो। पहिलो थिम पोस्टरमा झैँ ट्रेलरमा पनि कताको जस्तो बनाउने होला भन्ने रनाहामा ट्रेलर बनाउनै ढिला भएको पो हो कि! टेनेटको ट्रेलर र एक्टर टेन वानको ट्रेलर हेर्दा त शङ्का लाग्नु स्वाभाविकै हो नि।

माघ ५, २०८१ शनिबार २१:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।