आफ्नो पार्टीलाई राप्रपासँग एकीकरण गर्न चाहन्थे कमल थापा, राजेन्द्र लिङ्देनले मानेनन्
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल कसैसँग एकीकरण नगर्ने बताएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राप्रपाका अध्यक्ष लिङदेनले चाहे एक हप्तामा दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफूहरू कसैसँग एकीकरण पक्षमा नरहेको बताए।
शनिबार राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ।’
उनले अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्ला मात्र भएको र त्यसको पछाडि नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए।
पहिले पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्षमात्र छन्।’
महाधिवेशनमा लिङ्देनसँग पराजय ब्यहोरेर पार्टी फुटाएका थापा पछिल्लो समय एकीकरणको पक्षमा उभिएका छन्।
गत पुस २७ मा पृथ्वी जयन्तीमा समेत एकै ठाउँमा कार्यक्रम गर्न थापाले लिङ्देनसँग आग्रह गरेका थिए। तर, लिङ्देनले थापाको प्रस्ताव ठाडै अस्वीकार गरे।
आफू नेतृत्वको पार्टीले आयोजना गरेको चियापान सकेर थापा लिङ्देनले आयोजना गरेको चियापान कार्यक्रममा समेत पुगेका थिए।
त्यस दिन विभिन्न सञ्चारमाध्यममा कुरा गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका थिए।
अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेको भनेका थिए।
‘मैले राजेन्द्र लिङ्देनजीलगायत नेताहरूलाई भेटेर पार्टी एकता गर्न ढिलो नगरौं, अहिले परिस्थिति अनुकूल भएको छ,’ अध्यक्ष थापाले भनेका थिए, ‘राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू छरिएर रहँदा हाम्रो जनाधार कमजोर हुँदैछ, त्यसकारण एकताको पहल गरौं भनेर मैले कुराकानी गरेको हुँ।’
माघ ५, २०८१ शनिबार २१:०३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।