डा. अर्चनाको उपचार अनुभव : एमडी पढ्दा ढाड दुखेर पढाइ नै छोड्नु परेको तीतो सम्झना
‘जनरल सर्जन’ हुन् डा. अर्चना केसी। औषधि उपचार अनि शल्यक्रिया गरी बिरामीको रोग सञ्चो बनाउनु उनको दैनिकी हो। दुर्गमका बिरामीको दुःख उनले नजिकबाट नियालेकी छन्। वीर अस्पतालमा कार्यरत डा. अर्चनाको चिकित्सक बन्ने चरणका दुखहरु पनि कम छैनन्। बाल्यबालदेखि नै मस्तिस्कसँग सम्बन्धित स्वास्थ्य समस्या रहेका बुबालाई देखेकी उनले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगका अनुभव उकेरासँग साटेकी छन् :
सानो बेलाको त्यो दुःख
काठमाडौंको हाँडीगाउँमा जन्मिएकी अर्चना दुई कक्षामा पढ्दादेखि नै उनका बुबालाई मस्तिस्कसँग सम्बन्धित स्वास्थ्य समस्या भयो। अहिले पनि बुवाले औषधि सेवन गरिरहेको उनले सुनाइन्।
त्यसबेला उनको पारिवारिक आर्थिक अवस्था पनि गतिलो थिएन। त्यहीबेला बुवा पनि बिरामी भएपछि आमाले दुःखजिलो गर्दै अर्चना, उनकी दिदी र भाइलाई पढाइन्। छोराछोरीको ‘फी’तिर्न कयौँपटक छरछिमेक अनि आफन्त तथा नातागोतासँग आमाले ऋण मागेको अर्चनालाई अझै सम्झना छ।
त्यो सम्झँदा अर्चनाको मन अमिलो हुन्छ। अहिले पनि उनलाई सानो बेलाको त्यो दुःख अनि कठिन आर्थिक अवस्था सम्झन मन लाग्दैन।
जसोतसो दुई छोरी र छोरालाई आमाले नीजी स्कुलै पढाइन्। अर्चनाकी आमाको सपना थियो, ‘छोरीहरू डाक्टर बनून्। अनि छोरा इन्जिनियर बनोस्।’ दशैंमा टीका लगाउँदा पनि आमाले छोरीहरूलाई ‘डाक्टर’ अनि छोरालाई ‘इन्जिनियर बन्नू’ भन्दै आशीर्वाद दिन्थिन्। तीनै जना छोराछोरीको अध्ययन अब्बल थियो। नभन्दै, हुर्किँदै जाँदा उनीहरू पनि आमाको सपना खेर जान दिनुहुँदैन भन्नेमा सचेत हुँदै गए।
अर्चनाले ललितपुरको जावलाखेलस्थित ‘फ्युचर स्टाइल हाइस्कुल’बाट राम्रो अंकमा एसएलसी उत्तीर्ण गरिन्।एसएलसीपछि भने निजी कलेजमा पढाउन उनकी आमालाई मुस्किल थियो। आमाको दुःख बुझेर नै अर्चनाले सरकारी कलेज (अमृत साइन्स कलेज)मा पढ्ने निर्णय गरिन्। अनि त्यहीँबाट आइएस्सी गरिन्। आइएस्सीमा छात्रातर्फ उनी सर्वोत्कृष्ट भएर पुरस्कृत भइन्।
अर्चनाले आमाको सपना भुलेकी थिइनन्। आमाको सपना पूरा गर्न पनि उनलाई डाक्टरी विषय नै अध्ययन गर्नुपर्ने थियो। त्यसपछि उनलाई डाक्टरी विषय अध्ययन गर्ने रहर पनि जाग्दै गयो। अध्ययनमा अब्बल उनले एमबीबीएसको छनोट परीक्षाको तयारी कक्षा पनि छात्रवृत्ति कोटामै अध्ययन गर्ने मौका पाइन्।
त्यो बेला एमबीबीएस अध्ययनका लागि करिब २५ लाख खर्च लाग्थ्यो। त्यत्रो पैसा खर्च गरेर पढाउने आमाको सामर्थ्य थिएन। त्यसैले छात्रवृत्तिमा पाए मात्रै एमबीबीएस पढ्न सक्थिन्, अर्चना। नभन्दै, अर्चनाले सरकारी छात्रवृत्ति कोटा (शिक्षा मन्त्रालयको)मा एमबीबीएस अध्ययन गर्ने अवसर पाइन्। अनि सन् २००६ मा भर्ना भएर काठमाडौं विश्वविद्यालयअन्तर्गत जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न थालिन्। सन् २०११ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
दोलखामा पोस्टमार्टम गर्दाको त्यो अनुभव
सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेकाले अर्चनाले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। सोसफोर्सवालाहरू त काठमाडौं वा काठमाडौं नजिकैका सुगम जिल्लाहरूमा गएर काम गर्थे। तर, उनको भनसुन लाग्ने त्यस्तो कोही थिएन। त्यसैले अर्चना छात्रवृत्ति करारमा काम गर्न सरकारले खटाएकै ठाउँ दोलखाको सदरमुकाम चरिकोट पुगिन्।
त्यहाँ पुगेर जंगलको छेउमा रहेको चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा उनले काम गर्न थालिन्। काठमाडौं उपत्यका छोडेर कतै नगएकी उनलाई सुरुवाती दिनहरूमा त त्यहाँ निक्कै अत्यास लाग्थ्यो। तर, उनी बानी पार्दै गइन्। त्यो बेला उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने बिरामीको चाप असाध्यै हुने गरेको उनी सम्झिन्छिन्।
दोलखामा विभिन्न कारणले मृत्यु भएका व्यक्तिको शवको डा.अर्चनाले पोस्टमार्टम गरेकी छिन्। दोलखा गएकै दिन त्यहाँ पोस्टमार्टम गर्नु परेको उनी सम्झिन्छिन्। सुरूमा त उनलाई के गर्ने! कसो गर्ने होला! भनेर डर लाग्थ्यो। तर, बिस्तारै उनी बानी पर्दै गइन्।
एक पटक त जिल्लाबाट करिब पाँच घण्टा पर गएर डा. अर्चना पोस्टमार्टम गरेकी छन्। त्यो बेला बाढी-पहिरोमा परेर मृत्यु भएका केही शवको पोस्टमार्टम गर्नु परेको उनी सम्झन्छिन्। बाटोमा बाढी-पहिरो छिचोल्दै प्रहरी लगायतको टोलीसँग उनी पोस्टमार्टमका लागि घटनास्थलमा गइन्। बाढी-पहिरो गएको बाटोमा हिँड्दा उनलाई पनि खुट्टामा चोटपटक लाग्यो।
तर, जसोतसो घटनास्थल पुगेर उनले पहिरो गइरहेको ठाउँ नजिकै पोस्टमार्टम सुरू गरिन्। पोस्टमार्टम गरिरहँदा नै पहिरोले आफैंलाई लाने हो की भन्ने डर थियो। तर, डराउँदै पोस्टमार्टम गरेर फर्किएको उनले सुनाइन्। बाढी-पहिरोका कारण मृत्यु भएका ती वीभत्स शवको पोस्टमार्टम गर्दाको त्यो कहालीलाग्दो घटना सम्झँदा अझै उनको आङ जिरिङ्ग हुन्छ।
एक पटक त काठमाडौं आएको बेला स्कुटर चलाउनेक्रममा लडेर उनको खुट्टा नै ‘फ्याक्चर’ भयो। खुट्टामा प्लास्टर लगाउनुपर्यो। तर, उनी खुट्टामा प्लास्टर गरेर भोलिपल्टैदेखि बैसाखी टेकेर दोलखाको चरिकोटमा काम गर्न गइहालिन्। त्यो बेला स्वास्थ्य केन्द्रबाट नजिकै एउटा पोस्टमार्टम गर्नुपर्ने भयो। खुट्टामा प्लास्टर गरिएकाले हिँड्न गाह्रो भएपनि त्यहाँ पुगेर पोस्टमार्टम गरेको उनी सम्झन्छिन्। खुट्टामा फ्याक्चर भएका कारण करिब ६ महिना थला पर्नु परेको उनले सुनाइन्।
गाउँमा झाडापखाला लगायत विभिन्न रोग फैलिँदा उनले घरघर पुगेर उपचार गरेकी छन्। डा. अर्चनाले दुई वर्षसम्म दोलखाको चरिकोटमा काम गरिन्। त्यसक्रममा सयौं शवको पोस्टमार्टम गरेको अनुभव उनले सुनाइन्।
एमडी पढ्दा ढाड दुखाइको त्यो पीडा
दुई वर्षे छात्रवृत्ति करारको अध्ययनपछि डा. अर्चना दोलखाबाट फर्केर काठमाडौं आइन्। त्यसपछि करिब ६ महिना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गरिन्। अनि उनले काठमाडौं विश्वविद्यालयमा चिकित्सा शास्त्रको स्नातकोत्तर तह (एमडी/एमएस) अध्ययनका लागि छनोट परीक्षा दिइन्। उनी छनोट पनि भइन्।
डा. अर्चनालाई शल्यचिकित्सा विषय नै अध्ययन गर्ने रहर थियो। उनले यो विषय अध्ययन गर्ने अवसर नपाएकी पनि हैनन्। तर, उनलाई त्यो बेला ढाड दुख्ने समस्या सुरू भयो। जति औषधि उपचार गरे पनि दुखाई कम भएन। शल्यचिकित्सा विषयमा धेरै बेरसम्म उभिएर बिरामीको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। त्यसैले उनले इन्टरनल मेडिसिन विषय नै छनोट गरेर काठमाडौं विश्वविद्यालयअन्तर्गत काठमाडौं मेडिकल कलेजमा एमडी पढ्न थालिन्।
एमडी अध्ययन गरिरहँदा समेत जति उपचार गरे पनि उनको ढाडको दुखाई कम भएन। आवासीय चिकित्सकले हप्तामा तीन पटकसम्म ३६/३६ घन्टा काम गर्नुपर्थ्यो। न सुत्नको ठेगान, न खानको ठेगान। अस्पतालमा दौडादौड गरेर काम गर्नुपर्थ्यो। घरी आइसीयु त घरी आकस्मिक कक्षमा दौडनुपर्ने। सार्वजनिक बिदाको दिन बिदा नपाइने। आवासीय चिकित्सकको ड्युटी निक्कै धपेडी र कडा हुन्छ।
यी सबैलाई बुझेर उनले एमडीमा आफूलाई मन पर्ने विषय पढिनन्। शारीरिक रुपमा अलि कम भार पर्ला की भनेर उनी इन्टरनल मेडिसिन विषय पढिरहेकी थिइन्। तर, निक्कै समयपछि सम्म पनि न ढाडको समस्या कम भयो। न यो विषयमा उनलाई रस नै जाग्यो। सँगैमा ढाडको समस्या पनि झन् बढ्दै गइरहेको थियो। दुखाइको कारण कम्मरमा बेल्ट (पटुका) बाँधेर उनी काम गर्थिन्। ढाडको दुखाइका कारण कयौं पटक उनी रोएकी छन्। ड्युटीको चापका कारण उनलाई एमडी अध्ययन बित्यास लाग्दो बनिरहेको थियो।
एमडी छोडेर सरकारी जागिरमा प्रवेश अनि जिरीमा काम
एमडी अध्ययन सुरू गर्नुअघि डा. अर्चनाले स्थायी चिकित्सकको जागिरका लागि लोकसेवा परीक्षा दिएकी थिइन्। एमडी अध्ययन थालेको तीन महिनामा उनलाई लोकसेवामार्फत आठौं तहको स्थायी मेडिकल अधिकृतको रुपमा जागिरे हुने अवसर मिल्यो। धेरैले सरकारी जागिरका लागि छनोट भएपनि सरकारी जागिर नखाई निरन्तर एमडी अध्ययन गर्न सुझाव दिएका थिए।
तर, उनी भने ढाडको समस्यामा सुधार नभएपछि एमडी तहको अध्ययन नै छोड्न बाध्य भइन्। त्यसैले इन्टरनल मेडिसिन विषय अध्ययन सुरू गरेको तीन महिनापछि २०७२ मा आठौं तहको स्थायी मेडिकल अधिकृत चिकित्सकको रुपमा सरकारी जागिरमा प्रवेश गरिन् उनी। सरकारी जागिरे भएपछि पहिलो पोष्टिङ भएर डा. अर्चना दोलखाको तत्कालीन जिल्ला अस्पताल जिरी पुगिन्।
दुर्गममध्ये उनी आफैंले जिरी छनोट गरेकी थिइन्। त्यही बीचमा उनको विवाह पनि भयो। उनका श्रीमान पनि चिकित्सक नै हुन्। उनीहरुका दुई सन्तान छन्। दोलखाको जिरीमा उनले करिब साढे दुई वर्ष काम गरेर काठमाडौं फर्किएपछि अहिले उनीहरू भक्तपुरमा बस्छन्।
अन्ततः इच्छा लागेकै विषयकै अध्ययन
डा. अर्चनालाई थप अध्ययन गर्नु त छँदै थियो। उनलाई बिस्तारै ढाडको समस्या पनि सुधार हुँदै गयो। त्यसैले उनले आफूलाई मन परेको शल्यचिकित्सा विषय अध्ययन गर्ने निधो गरिन्। त्यो बेला उनकी छोरी जन्मिएकी थिइन्। त्यही बेलाको सुत्केरी बिदालाई थप सदुपयोग गर्दै उनले स्नातकोत्तर तहको एमएस अध्ययनको छनोट परीक्षाको तयारी समेत गरिन्। उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शल्यचिकित्सा (एमएस जनरल सर्जरी) विषयको अध्ययनका लागि छनोट परीक्षा उत्तीर्ण भएकी थिइन्।
तर, छोरी सानो भएकाले उनले धरानमा पढ्न गइनन्। डा. अर्चनालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मै शल्यचिकित्सा विषय अध्ययन गर्ने इच्छा थियो। उनले त्यहाँ छनोट परीक्षा दिइन्। छनोट परीक्षामा सफल भइन्। बल्ल, डा. अर्चनाले चाहेकै विषय अध्ययन गर्न पाउने भइन्। अनि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा २०७५ मा स्नातकोत्तर तहको स्नातकोत्तर तहको ‘जनरल सर्जरी’ विषयमा एमएस अध्ययनका लागि भर्ना भइन्। २०७८ मा उनले तीन वर्षे एमएस अध्ययन पूरा गरिन्। अर्चनाले एमएस पनि सरकारी छात्रवृत्ति कोटामै अध्ययन गरेकी हुन्।
त्यो बेलादेखि अहिलेसम्म डा. अर्चनाले वीर अस्पतालमै कार्यरत छिन्। हाल उनी न्याम्समा ‘एसिस्टेन्ट प्रोफेसर’को भूमिकामा समेत कार्यरत छिन्। त्यसैगरी डा. अर्चनाले बेलायत, अमेरिका, जर्मनी, मलेसिया, भारत जस्ता मुलुकबाट जनरल सर्जरी सम्बन्धी विषयमा थप ज्ञान तथा सीप सिकेकी छन्। डा. अर्चना हेल्थ पार्टनरसिप नेपाल अनि फ्रिडम फिडब्याक (युके) लगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर समाज सेवाको काममा पनि उत्तिकै सक्रिय छिन्।
कोरोना भाइरस संक्रमणको समयमा बिरामीको उपचारकै क्रममा उनलाई पनि तीन पटक कोरोना भयो। एक पटक त कोरोना संक्रमित भएर स्वास्थ्य अवस्था यति जटिल बन्यो की दश दिनसम्म आइसियुमा बस्नु परेको तीतो अनुभव उनले सुनाइन्।
आमाले दशैंमा टीका लगाउँदा दिएको आशीर्वाद डा. अर्चना अझै सम्झिन्छिन्। अर्चना र उनकी दिदी डाक्टर नै बने। अनि भाइ पनि इन्जिनियर नै बने। आमाको आशीर्वाद र सपना पूरा भएकोमा उनी खुसी छिन्। बुवालाई पनि औषधि उपचार गरी रोग नियन्त्रणमा राख्न सफल भएकोमा उनी सन्तुष्ट छिन्। औषधि सेवन गरिरहनु परे पनि बुवा सामान्य काम गर्न समेत सक्ने अवस्थामा रहेको उनले सुनाइन्।
माघ ५, २०८१ शनिबार १९:१४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।