मधेश आन्दोलनका सहिद परिवारलाई ३ करोड ६१ लाख दिइने, रकम हस्तान्तरण भोलिबाटै
जनकपुर : मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
विगत सात वर्षदेखि माघ ५ मा मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ। त्यसैलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको हो।
मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना र सम्मानमा यो दिवस मधेश सरकारलगायत मधेशवादी दल र नेताहरूले मनाउँदै आएका छन्।
कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठ वटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाइते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाइते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाइते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री सिंहले आज शनिबार भएका कारणले रकम हस्तान्तरण गर्न ढिलाई भएको र भोलि बैंक खुलेपछि बैंक खातामै रकम जाने गरी व्यवस्था मिलाउने जानकारी दिए।
त्यस्तै, उनले सहिद परिवारका सदस्यहरूका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृत्ति लगायतका सुविधा यसै वर्षदेखि सुरु गर्न लागेका बताए।
माघ ५, २०८१ शनिबार १८:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।