१६ लाख किशोरीलाई क्यान्सरविरूद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरूद्धको खोप लगाउन लागेको बताएका छन्।
काठमाडौंको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरूद्धको खोप लगाउन सरकार लागिरहेको बताए।
उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए। सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनको भनाई छ।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको उल्लेख गरे।
'हाल स्वास्थ्य वीमाको रकम एक लाख रहेको छ, हामी त्यसलाई बढाएर पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौं, उनले भने।
छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ छ। उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको बताए।
माघ ५, २०८१ शनिबार १८:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।