फिल्म होस्टेल३ को टिकटिक गीतको बिट चोरीको, संगीतकार अल्मोडाले गरे गीत चोरीमा ह्याट्रिक

फिल्म होस्टेल३ को टिकटिक गीतको बिट चोरीको, संगीतकार अल्मोडाले गरे गीत चोरीमा ह्याट्रिक

काठमाडौँ : सामाजिक सञ्जाल अझ विशेष युट्युब अनि टिकटकमा चर्चित भएका कुलब्वाय लगायतकालाई लिएर निर्माण भएको फिल्म होस्टेल३ को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक भए लगत्तै विवादमा पर्यो।

विवादको कारण य गीतका गीतकार, संगीतकार अनि गायक पनि रहेका अल्मोडा राना उप्रेती। गीतको सारंगीको जुन मुख्य बिट राखिएको छ त्यो उनको आफ्नो सृजना थिएन। उनले चोरी गरेका थिए। हो चोरी। यदि अनुमति लिएर राखेको भए यो प्रभावित भएको भन्न सकिन्थ्यो। तर उनले म्युजिक बिट अर्को गायक तथा संगीतकारको लोकप्रिय गीतबाट टपक्क टिपेर हल्का बिटको स्पि बढाएर आफ्नो भन्दै फिल्मको गीतमा राखे।

उनले एक ठाउँमा मात्रै यो म्युजिक बिट राखेका छैनन्। कतै अलि भोल्युम बढाएका छन् त कतै अलि घटाएका छन्। तर गीतभरि प्रयोग गरेका छन्।

यसको सारंगीको म्युजिक बिट हो गायक उर्गेन दोङको झुमा बोलको गीतको। यो गीत आठ महिना अगाडि उर्गेनले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका थिए। गीत लोकप्रिय नै छ। आठ महिनाको अवधिमा युट्युबमा २२ लाखले यो गीतको म्युजिक भिडियो हेरिसकेका छन्।

अल्मोडाले त्यही गीतको निकै सुमधुर सारंगीको बिट टपक्क टिपेर फिल्म होस्टेल३ को गीत ‘टिक टिक टिकमा ल्याएर राखिदिए। उनले दोङलाई कुनै क्रेडिट समेत दिएका छैनन्।

गीत चोरीमा अल्मोडा तानिएको यो पहिलो पटक पनि हैन। उनी श्रृंखलावद्ध रूपमा कहिले अर्काको लय चोरेको त कहिले लय तोडमोड गरेर आफ्नो बनाएको आरोपमा पर्दै आएका गायक तथा संगीतकार हुन्।

यस अगाडि उनी फिल्म ‘कृ’ को उकालीमा अघिअघीको लय चोरेको विवादमा तानिएका थिए। उनले कृ मा पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि…’ बोल सर्लक्क राखेर गीत बनाएका थिए।

उनी फिल्म कृको संगीतकार थिए। जो सँग प्रतिलिपि अधिकार छ उसँग अनुमति नै नलिई गीतको लय अर्को गीतमा राखेको खुलेपछि सम्झना फिल्मको निर्माता प्रहरीमा पुगेका थिए।

फिल्म ‘छक्का पन्जा-२’ को टाइटल गीत ‘ए दाजु नसमाऊ नारीमा….’ कान्छा राना मगर नेपालीको सङ्गीत रहेको गीत तोडमोड गरेर बनाएको पुष्टि भएको थियो। त्यसमा पनि अल्मोडाले आफ्नो गीत भएको दाबी गरेका थिए।

तर यो गीत गन्धर्व समुदायको पुरानो गीतलाई तोडमोड गरेर बनाएको खुल्यो। कान्छा राना मगरले प्रतिलिपि अधिकारमा उजुरी गर्ने तयारी गरेपछि फिल्म ‘छक्का पन्जा-२’ को निर्माण टिमले गीतमा कान्छा रानालाई क्रेडिट दिएर विवाद समाधान गरेका थिए।

अहिले आएर होस्टेल३ को गीतको म्युजिक बिट पुन चोरी गरे। उनले सर्लक्कै बिट तानेर आफ्नो गीतमा हल्का बिटको स्पिड मात्र बढाएका छन्। अन्य केही भिन्नता छैन।

माघ ५, २०८१ शनिबार १६:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।