मधेश आन्दोलनका कारण संघीयता स्थापना भएको हो : उपेन्द्र यादव
रौतहट : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन्।
सिरहाको लहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिबार बिहान त्यहाँ पुगेका हुन्।
त्यस क्रममा उनले मधेश आन्दोलनका कारण मधेशमा संघीयता स्थापना भएको दाबी गरेका छन्। मधेश आन्दोलनको क्रममा महतोसहित संघीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तिको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले सुनाए।
माघ ५ का दिन मधेश सरकारले मधेश आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।
बलिदानी दिवसको अवसर पारेर मधेश सरकारले सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्दै आएको छ। मधेश सरकारले सहिदहरुको परिवारलाई अभिनन्दनका साथै सहिदहरुको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेश सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए।
जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए।
माघ ५, २०८१ शनिबार १४:४६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।