मोरङमा भक्काको स्वादमा रमाउँदै प्रचण्ड

मोरङमा भक्काको स्वादमा रमाउँदै प्रचण्ड

विराटनगर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन्।

मोरङको विराटनगर पुगेका प्रचण्डले शनिबार बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन्।

तातो भक्का खाँदै उनले स्वादिलो रहेको प्रतिक्रिया दिए। उनको साथमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि थिए।

राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गरेका छन्।

मोरङको बस्तीमा अहिले सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन्।

यो परिकार पुस-माघको चिसो मौसममा हुरहुरी बाफ उड्ने गरि तातो खाजाका रुपमा भक्का राजवंशी समुदायका महिलाले बनाउने गर्दछन्।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। यो प्रायः चिया र अचारसँग खाने गरिन्छ।

झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो।

माघ ५, २०८१ शनिबार १२:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।