पहिलो पटक यू१९ महिला विश्वकप खेल्दै नेपाल, आज बंगलादेशको सामना गर्ने
काठमाडौं : आईसीसी यू१९ महिला टी२० विश्वकपमा नेपालले आज पहिलो पटक सहभागिता जनाउँदैछ।
फेब्रुअरी २ सम्म मलेसियामा चल्ने प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्दैछ।
खेल दिउँसो सबा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी-यूकेएम क्रिकेट ओभलमा हुँदैछ। नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन्।
विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ। दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। नेपाल रहेको समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड पनि छन्।
विश्वकपअघि भएको दुई अभ्यास खेलमा नेपाल वेस्ट इन्डिज र अमेरिकासँग पराजित भएको थियो।
१६ टिमलाई ४ वटा समूहमा विभाजन गरिएकोमा प्रत्येक समूहका शीर्ष ३-३ टोलीलाई फेरी दुईवटा समूहमा राखेर सुपरसिक्सका खेल हुनेछ।
समूह ए र डीका शीर्ष ३–३ टिमबीच एउटा सुपरसिक्स र अर्को समूह बी र समूह सीका शीर्ष ३-३ टिम राखेर अर्को सुपर सिक्स खेलाइनेछ।
चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन्। जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ।
माघ ५, २०८१ शनिबार ०७:४८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।