फिल्म ‘एक्टर : टेक वान’का आयोजकले त हदै गरे, दिव्या छक्क, आना मौन

काठमाडौँ : अचम्मको रोग छ नेपाली कला क्षेत्रमा। फिल्मको प्रिमियर होस् या गीत रिलिज, कुनै कार्यक्रम पनि ठ्याक्क समयमा सुरु नै नहुने। कुराउँदैमा ठुलै भइन्छ भन्ने भ्रम प्रशस्तै देखिन्छ। अनि अनेक बहाना बनायो, माफी माग्यो।
शुक्रवार प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वान’को ट्रेलर रिलिज कार्यक्रमका त आयोजकले हदै गरे। दिउँसो साढे १ बजे ट्रेलर सार्वजनिक गर्ने भनेर सञ्चारकर्मीहरूलाई बोलाएर कार्यक्रम सुरु गरे साढे तीन बजे।
फिल्म रिलिज भएपछि दर्शकले हलमा फिल्म हेर्न यसरी नै निर्माण टिमलाई कुराइदिए भने के हुन्छ? अर्काको समय बर्बाद गर्न फिल्म निर्माण टिमलाई मात्र आइडिया आउने त हैन होला ! दर्शकले यही आइडिया लगाइदिए भने माफी मागेर डुब्नबाट जोगिन सकिन्छ र!
केही सञ्चारकर्मीहरू त हदै गरे भनेर कार्यक्रम सुरु हुनु अगाडि नै बाहिरिए। केही भने आइहालियो भनेर बसेका थिए। पत्रकार डब्बु क्षेत्रीले त ५२ सालको एक फिल्मको नमिठो प्रसङ्ग सुनाउँदै आइन्दा यस्तो नगर्न चेतावनी नै दिए।
निर्माण टिमले ट्रेलरको साउन्डमा समस्या आएकाले बनाउँदा कार्यक्रम नै ढिला भएको बतायो। कार्यक्रममा सहभागी नव अभिनेत्री दिव्या रायमाझी पत्रकार र आफ्नो टिमबिचको कुराकानी सुनेर अक्क न बक्क परिन्। अर्की अभिनेत्री आना शर्मा चुपचाप बसिन्।
यता अभिनेता प्रदीप खड्काले भने आफूहरू समयमा नै आएको दाबी गरे। तर समयमा कार्यक्रम नभएकाले एक क्याफेमा कफी खाएर बसेको बताए।
उनले आफूले कहिल्यै पनि कार्यक्रम अबेला नगर्ने र आइन्दा पनि नगर्ने भन्दै माफी मागे।
माफी माग्नेक्रम सकिएर जव फिल्मको ट्रेलर रिलिज भयो अनि बल्ल सञ्चारकर्मीले कुराएको हल्का बिर्सिए। यस अगाडि निर्माण टिमले सार्वजनिक गरेका पोस्टरहरु विवादमा परे पनि ट्रेलर भने प्रभावकारी देखियो। सस्पेन्स जनारामा बनेको देखिएको फिल्म एक महत्वाकांक्षी युवा कसरी अपराधको जालोमा फस्छ अनि कसरी उम्कन्छ भन्नेमा केन्द्रित झैँ देखायो ट्रेलरले।
राजन भुसाल डेब्यु निर्देशित फिल्ममा प्रदीप,दिव्या,आना बाहेक सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डेय, बादल भट्ट लगायतका कलाकार समेत छन्। फिल्म माघ १६ मा रिलिज हुँदैछ।
माघ ५, २०८१ शनिबार ००:०७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।