भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फर्निचर एक्स्पो, भारत र चीन सहभागी
काठमाडौँ : नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण शुक्रवारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्रान्डहरू प्रदर्शनीमा राखिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै मुलुकमा उद्योग स्थापना हुन नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिममा गरिएको लगानीबाट लाभ लिन नसकिएको बताए।
उनले सरकारले विभिन्न प्राविधिक तालिम प्रदान गरे पनि तत्काल रोजगारी प्राप्त गर्न नसक्दा लगानीको लक्ष्य र प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा काठजन्य उद्योगले त्यस्ता जनशक्तिको सदुपयोग गर्न आवश्यक रहेको बताए।
विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले बताएका छन्।
‘विदेशी कम्पनीले काठजन्य सामग्री उत्पादनमा प्रयोगमा ल्याएका नवीनतम प्रयोगबारे एकै थलोबाट नेपाली उद्यमीले जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो,’ मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराईले भने।
प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेस्टुरेन्ट र महलका ढोका,झ्याल, भर्याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन्। तीन दिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
माघ ४, २०८१ शुक्रबार १८:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।