फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलरमा मधेस हाबी, मधेसकालाई इन्डियन भनेको भन्दै रिसाए नाजिर

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलरमा मधेस हाबी, मधेसकालाई इन्डियन भनेको भन्दै रिसाए नाजिर

काठमाडौँ : प्रचार सुरु गरेर हाइप निर्माण भइसकेको बेलामा एकाएक फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले रिलिज मिति सार्यो। त्यो बेलामा पूर्णबहादुरको सारङ्गीले हलमा कब्जा हानिरहेको थियो। त्यही दिन ह्रस्व दीर्घ पनि रिलिज हुँदै थियो। निर्माण टिमले सम्भावित प्रभाव हेरेरै होला रिलिज मिति सार्यो।

अहिले पुन निर्माण टिम माघ ११ को नयाँ रिलिज मिति तोकेर फिल्मको प्रचार सुरु गरेको छ। एक चरणको प्रचार रणनीति पहिला नै सकिएकाले हुनसक्छ निर्माण टिमले पुन नयाँ ट्रेलर सार्वजनिक गर्यो जुन बढी मधेस केन्द्रित छ।

 १ मिनेट ५६ सेकेन्डको ट्रेलर अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ वरपर नै घुमेको छ। यस अगाडिको ट्रेलरमा मधेससँगै अन्य क्षेत्रका दृश्य पनि समेटिएको थियो। यो पटक भने पुरै ट्रेलर मधेसमा घुमेको छ।

प्रेम, सङ्घर्ष र धोकाको सङ्केत दिने पहिलो ट्रेलरको कुनै दृश्य दोहोर्याइन सार्वजनिक भएको ट्रेलरमा चासो बढाउन भूगोलको आधारमा को नेपाली हो या हैन भनेर गरिने कमेन्टदेखि सृष्टिलाई कोठामा बन्धक बनाएर राखेको दृश्यसम्म अटेका छन्।

फिल्ममा नाजिर रामको भूमिकामा रहेको र सृष्टि सीताको भूमिकामा रहेको यस अगाडि नै खुलेकै विषय हो। एक अनजान मधेस मूलको केटा अनि एक अनजान पहाडमुलकी केटीबीच हुने भेट र त्यसले बढाउने सम्बन्धसँगको उतारचढाव नै फिल्मको मूल कथासार देखिन्छ।

फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा बनेको हो। यसको निर्देशक छन् दीपेन्द्र गौचन। उनले नै यो फिल्मको कथा समेत लेखेका हुन्।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्ण लगायतका कलाकारहरू छन्।

माघ ४, २०८१ शुक्रबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।