फलाम खानी र मल कारखाना खोल्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योग स्थापना हुने क्रममा रहेको दाबी गरेका छन्।
उनले शुक्रवार बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएको दाबी समेत गरे। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने दाबी गरे।
सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनले बताए।
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन्। धौवादी फलाम खानी र मल कारखाना खोल्दै छौँ। दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएका उद्योगले पुनः जीवन पाउँदै छन्। ती सबैमा ऊर्जाका खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्छु। तपाईँहरू लगानी गर्नुस्, लगानी खोज्दै अरूलाई खोला दिइरहनु पर्दैन।’
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई ऊर्जा उत्पादकहरूले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको दाबी गरे।
माघ ४, २०८१ शुक्रबार १६:३९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।