लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप : १३ जना नियन्त्रणमा, छ जनाविरुद्ध मुद्दा दर्ताको तयारी
काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा निर्माणाधीन सबस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
नेपाल विद्युत प्राधिकरणले तामाकोशी तथा सुनकोशी लगायतका नदीमा उत्पादित विद्युत् काठमाडौं उपत्यकामा ल्याउन लप्सीफेदीमा ४ सय, २ सय २०, १ सय ३२ र ११ केभी सबस्टेशन निर्माण भइरहेको छ।
निर्माणाधीन सबस्टेसन र टावर निर्माणको लागि बिहीबार दिउँसो स्काभेटर पुग्दा स्थानीयले विरोध गरेका थिए। विरोधका क्रममा स्काभेटरमा स्थानीयले क्षति पुर्याएपछि प्रहरीसँग झडप भएको थियो।
झडपमा केही प्रहरी घाइते भएपछि राति समेत धरपकट गर्दै गोली चलाएको स्थानीयको आरोप छ।
तर, काठमाडौं उपत्यका प्रहरीका सूचना अधिकारी नवराज अधिकारीले भने दिउँसो झडप भएको र त्यस क्रममा निर्माण स्थलमा क्षति पुर्याउने १३ जनालाई नियन्त्रणमा लिएर बौद्ध प्रहरीमा राखिएको जानकारी दिए। गोली चलाएको आरोप भने उनले खण्डन गरे।
नियन्त्रणमा लिइएका १३ जनामध्ये छ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै मुद्दा दायर गर्ने तयारी रहेको बौद्ध प्रहरीले जनाएको छ।
बौद्ध प्रहरीका एक अधिकारीले भने, ‘स्थानीयले ढुंगामुढा गर्दा स्काभेटरमा क्षति पुगेको छ। चालक र सहचालक सहित सशस्त्र प्रहरी घाइते भएका छन्।’
स्थानीय र नेपाल विद्युत प्राधिकरणबीच २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति बापतको ५० करोड रुपैयाँ वितरण भइसकेको छ।
प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर मुआब्जा दिइसक्दा पनि स्थानीयले निर्माणमा अवरोध गर्दै आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए।
‘हामीले मुआब्जा अधिकांशलाई दिइसकेका छौँ। कतिले आफैँ लिएका छैनन्। उनीहरूको माग भनेको त्यो ठाउँबाट सबस्टेशन सार्नु भन्ने हो। त्यो त सम्भव नै छैन’, उनले भने।
लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माणको लागि जग्गा अधिग्रहण गरेको थियो। जसमा ५० जना स्थानीयको १ सय ७४ रोपनी जग्गा अधिग्रहण गरी सवस्टेशन निर्माण थालेको छ।
लप्सीफेदीमा निर्माण भइरहेको सबस्टेशन र प्रसारण लाइको काम मिलिनियनम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतको योजना हो।
माघ ४, २०८१ शुक्रबार १५:११:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।