स्तनपानलाई निरुत्साहित गर्ने वस्तुको बजारीकरण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्तनपानलाई निरुत्साहित गर्ने वस्तुको अनुचित बजारीकरण नगर्न आग्रह गरेको छ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण)ऐन २०४९ तथा नियमावली २०५१ को प्रावधान स्मरण गराउँदै मन्त्रालयले त्यस्ता सामग्रीको अनुचित बजारीकरण भएको पाइए हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउन आग्रह गरेको छ।
मातृ–शिशु मैत्री अभियानअन्तर्गत सम्पूर्ण सरोकारवालालाई स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्दै स्तनपानलाई निरुत्साहित गर्ने विषय मन्त्रालयले नोटिसमा लिएको जनाउँदै ऐन र नियमावली कार्यान्वयन गराउन प्रतिबद्ध रहेको जनायो।
मन्त्रालयले सबै सरोकारवालामा सो ऐन र नियमावली प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन अनुरोध गरेको छ।
शिशु जन्मिएपछि जतिसक्दो चाँडो (एक घण्टाभित्र) अनिवार्य रुपमा खुवाउनुपर्ने आमाको बिगौती दूधले भविस्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्ने र बाल मृत्युदर घटाउने गर्दछ। त्यसैगरी शिशुलाई जतिसक्दो चाँडो स्तनपान गराउँदा आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ।
आमाको दूधमा शिशु जन्मिएपछि ६ महिनाको उमेरसम्म चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ र ६ महिनापछि पोषिलो थप खानाका साथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ।
माघ ४, २०८१ शुक्रबार १४:४६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।