ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनका उपराष्ट्रपति हान झेङ सहभागी हुने भएका छन्।

गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएका हुन्।

ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा यसअघिको नजिरलाई तोड्दै चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार ट्रम्पको सपथ समारोहमा उपराष्ट्रपति सीको ‘विशेष प्रतिनिधि’का रूपमा हान सहभागी हुने जनाएको छ।

‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढाउने कार्यमा सहकार्य र समन्वयको सिद्धान्तलाई अनुसरण गर्दछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘हामी नयाँ अमेरिकी सरकारसँग वार्ता र संवाद बढाउन र मतभेदको उचित व्यवस्थापन गर्न काम गर्न तयार छौँ’, विज्ञप्तिमा उल्लेख छ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पको चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो। खासगरी उनले चिनियाँ सामानमा अतिरिक्त करको घोषणा गरेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो।

ट्रम्पले बेइजिङले अनुचित व्यापार अभ्यास गरेको र संयुक्त राज्य अमेरिकामा विनाशकारी फेन्टानिल संकटमा भूमिका खेलेको आरोप लगाउँदै यसपटक थप कडा उपायहरू लागू गर्ने चेतावनी दिएका छन्।

माघ ४, २०८१ शुक्रबार १३:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।