विपक्षी दलको बैठक आज, संयुक्त वक्तव्य जारी गर्दै
काठमाडौं : विपक्षी दलको बैठक आज पनि बस्दैछ।
आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ।
संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन्।
बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए। बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने विपक्षी दलको तयारी छ।
विपक्षी दलको संयुक्त वक्तव्य बनाउन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन्।
माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको थियो। सरकारले संसद बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन्।
सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढेको उनीहरुको ठहर छ। गत बुधबारको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए।
यस्तै बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए।
यस्तै विपक्षी दलहरुले सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई पनि वक्तव्यमा समेट्न चाहे पनि त्यस दलका नेताहरू भने पन्छिएका छन्।
माघ ४, २०८१ शुक्रबार ०७:४७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।