स्वास्थ्य उपकरण खरिद मिलेमतो थप संस्थागत, बदनामीकै बाटोमा स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य उपकरण खरिद मिलेमतो थप संस्थागत, बदनामीकै बाटोमा स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य सेवालाई थप सहज र पारदर्शी बनाउने भन्दै विभिन्न सुविधा र सहुलियत घोषणा गर्न स्वास्थ्यमन्त्री पौडेल निकै सक्रिय छन्। बिहीबार मात्रै उनले पक्षाघातको उपचारमा प्रयोग हुने महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय सार्वजनिक गरे।

मन्त्रालय अन्तर्गतको अन्य क्षेत्रको सुधारमा पौडेल जति सक्रिय देखिए स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा रहेको संस्थागत भ्रष्टाचार हटाउन उनी त्यति नै निष्क्रिय देखिएका छन्। विशेषतः कोरोनाकालबाट खुलमखुला मन्त्रालयमा मौलाएको उपकरण तथा सामग्री खरिदको नीतिगत भ्रष्टाचारको मात्रा अहिले पनि उस्तै छ।

हिजो जसरी खरिदको जिम्मा पाएका नेतृत्वले खरिदको प्रशासनिक प्रक्रिया पुरा गर्दै खरिद मापदण्डमा खेल्दै निश्चित सप्लायर्सहरुलाई पोस्दै आएका थिए यो क्रम पौडेलको समयमा रोकिएन। स्वास्थ्य उपकरण तथा सामान खरिदमा हिजो नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री भएर बदनामी कमाएका मोहन बस्नेतको समयमा जसरी कर्मचारी र सप्लायर्स मिलेर राज्य कोषमा लुट मच्चाएका थिए, पौडेलको समयमा मिलेमतो थप संस्थागत भएको देखियो। 

मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा रहने स्वास्थ्य सेवा विभाग अन्तर्गत हुने स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रक्रियामा स्पेशिफिकेशन र अन्य प्रावधानहरूको अध्ययनबाट सहजै मिलेमतो भएको पुष्टि हुन्छ। मन्त्री पौडेल समेत यसबारे जानकार छन्। तर खरिदलाई पारदर्शी बनाएर स्वतन्त्र प्रतिस्पर्धाको वातावरण बनाउन उनले प्रयास गरेको देखिएन।

यसको सबैभन्दा बलियो उदाहरण स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले आव्हान गरेको १८ करोडको तीन टेन्डर नै हुन्।  विभागले तीन वटा मेसिन तथा स्वास्थ्य उपकरण खरिद गर्न सार्वजनिक गरेको टेन्डरका प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादक मेसिनसँग मिल्ने गरी मिलेमतोमा बनाइयो।

विभाग अन्तर्गत स्वास्थ्य उपकरण तथा सामग्री खरिदको जिम्मेवारी पाएका अधिकारीहरूले कुन हदसम्म बदमासी गरेका छन् भन्ने प्रमाणहरू सार्वजनिक भएपछि टेन्डरको अवधि १० दिन बढाइयो। तीन टेन्डरको प्राविधिक स्पेशिफिकेशनमध्ये दुई वटाको संशोधन गर्दै सार्वजनिक पनि गरियो। तर, संशोधित भएर आएको स्पेशिफिकेशनमा पनि खुल्ला प्रतिस्पर्धा गराउने नियत देखिएन।

उकेराले स्पेशिफिकेशनबारे जानकारहरूसहितको सहयोगमा संशोधित स्पेशिफिकेशनको अध्ययन गर्दा सामान्य बुँदाहरू मात्र संशोधन गरिएको देखियो। निश्चित कम्पनीको उत्पादक मेसिन तथा उपकरणसँग मात्र मिल्ने गरी लक्ड गर्न राखिएका बुँदाहरू चलाइएन, जस्ताको त्यस्तै राखियो।

अहिले निकालिएको स्पेशिफिकेशन पनि लक्ड रहेकोबारे मन्त्री पौडेल जानकारै देखिए। स्रोतका अनुसार विभाग अन्तर्गतको खरिद प्रक्रियामा मिलेमतो देखिएको सूचना उनीसम्म पुगेको छ। उनी भने खरिदमा मन्त्रीको कुनै भूमिका नहुने भन्दै जसले खरिद प्रक्रिया अगाडि बढाएका हुन् उनीहरू नै जिम्मेवार हुनुपर्ने भन्दै पन्छिने गरेको स्रोतले उकेरालाई जानकारी दियो।

‘विभाग अन्तर्गत अगाडि बढेका खरिद प्रक्रिया पारदर्शी नभएकोबारे मन्त्रालयमा पनि गुनासोहरू आइरहेका छन्। निश्चित कम्पनीका उत्पादक मेसिन तथा उपकरण मात्र छनौट हुने गरी टेन्डरको स्पेशिफिकेशन बनाइएको जानकारी आएका छन्,’ स्रोतले उकेरासँग भन्यो ‘कर्मचारीहरूले कानुनी प्रक्रिया अनुसारै अगाडि बढेको छ भन्छन् भन्दै मन्त्रीज्यू सकेसम्म यस्ता प्रश्न पन्छाउनुहुन्छ। किन हो बुझ्न सकिएन।’

स्पेक संशोधनमा पनि लक्ड गरिएका बुँदाहरू कायमै

मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गरेको थियो।

उकेराले यी तीन टेन्डरको खरिद मापदण्डको अध्ययन गर्दा प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर निश्चित सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी प्रक्रिया अगाडी बढाएको खुल्यो। कुन मेसिनको मापदण्ड कुन कम्पनीको उत्पादकसँग मिल्ने गरी स्पेशिफिकेशन बनेको छ भन्ने प्रमाणसहित समाचार प्रकाशित भयो।

यी तीन टेन्डरमा विभागका जिम्मेवार अधिकारीहरूले गरेको मिलेमतोबारे उकेराले सार्वजनिक गरेपछि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर प्रस्तावको म्याद पुस २३ (२०२५, जनवरी ७) बाट १० दिन थपेर माघ ४ (२०२५, जनवरी १७) सम्मलाई पुर्याइयो।

पुस २८ (२०२५, जनवरी १२)मा दुई टेन्डरको प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन गरेजस्तो गरेर सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा प्रकाशित गरियो।

तीन मध्ये ‘ऐनस्थेसिया मेसिन’ र ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ को खरिद मापदण्ड संशोधन समेत भयो। खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को प्राविधिक स्पेशिफिकेशन संशोधन भएन। संशोधन भएको स्पेशिफिकेशनमा पनि लक्ड गरिएका बुँदाहरू हटेनन्। त्यसले यी तीन वटै मेसिनको टेन्डर जुन सप्लायर्स कम्पनीलाई दिनेगरी पहिला नै मिलेमतो भएको हो त्यसैले पाउने देखिन्छ।  

किनकि, मंसिर २३ मा आह्वान गरिएका यी तीन टेन्डरमा अन्य मेसिन उत्पादकहरूले प्रतिस्पर्धा नै गर्न नसक्ने गरी निश्चित मेसिन उत्पादक कम्पनीको क्याटलगमा रहेका प्राविधिक विवरणहरू नै विभागले निर्माण गरेको स्पेशिफिकेशनमा राखिएको छ।

मन्त्री पौडेलले जसलाई सरुवा गरेर पठाए उनीहरूले नै मिलेमतोमा

अहिले विभाग अन्तर्गतको स्वास्थ्य उपकरण तथा मेसिन खरिदमा यस अगाडिका मन्त्रीहरूले राखेका कर्मचारी छैनन्। जुन जुन कर्मचारी खरिदमा निर्णायक भूमिकामा छन् ती सबै मन्त्री पौडेलले सरुवा गरेर लगेका कर्मचारीहरू हुन्।

पौडेलले डा. सङ्गीता कौशल मिश्रालाई हटाएर डा. विकास देवकोटालाई विभागको महानिर्देशक बनाए। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा डा. श्रवण थापालाई हटाएर डा. पवनजंग रायमाझीलाई निर्देशक बनाए। व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख)मा लामो समयदेखि दरबन्दी विपरीत रहेका डा. सुरेन्द्र चौरासियालाई हटाएर दया कृष्ण पन्त लगे।

विभाग अन्तर्गत अगाडि बढेको खरिद प्रक्रियाका मुख्य निर्णायक यी तीन जना नै हुन्। विभागको खरिद मिलेमतोमा भूमिका देखिँदै आएका टेन्डर कागजात बनाउने जिम्मेवारीमा रहेका दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आशिष चौहान अहिले पनि विभागमा उही जिम्मेवारीमै छन्। अहिले लक्ड गरेर बनाइएको तीन वटै टेन्डरको स्पेशिफिकेशन निर्माणमा अधिकारी र चौहानै संलग्न देखिन्छन्।

कानुन अनुसार खरिदको कुनै पनि निर्णय प्रक्रियामा मन्त्री प्रत्यक्ष रूपमा संलग्न हुनु पर्दैन। तर, खरिदलाई पारदर्शी बनाउन होस् या मिलेमतोमा अगाडि बढाउन होस् मन्त्रीको ‘स्वीकृति’बिना सम्भव हुन्न।

आफ्नै कार्यकालमा विभाग लगिएका कर्मचारीले प्रक्रिया अगाडि बढाएको खरिदका मापदण्डहरू बदनियतका साथ राखिएको प्रमाणहरू सार्वजनिक हुँदा पनि मिलेमतो भत्काउन मन्त्री पौडेल सक्रिय देखिएनन्। मन्त्री पौडेल विभाग अन्तर्गत अगाडि बढिरहेका खरिदको प्रक्रिया मात्र हैन मापदण्ड समेत पारदर्शी बनाएर प्रतिस्पर्धाको आधारमा खरिद गराउने प्रणाली निर्माण गर्न इच्छुक देखिएनन्।

संशोधित स्पेशिफिकेशनमा पनि लक्ड गरिएका प्रावधानहरू रहेकोबारे कुरा गर्न उकेराले  बिहीबार स्वास्थ्य मन्त्री पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, विभागका महानिर्देशक डा. देवकोटा र व्यवस्थापन महाशाखाका निर्देशक डा. रायमाझी अनि आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख) पन्तसँग सम्पर्कको प्रयास गरिरह्यो। तर कोही पनि सम्पर्कमा आएनन्।

‘ऐनस्थेसिया मेसिन’को स्पेशिफीकेशनमा झारा टार्ने संशोधन

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले मंसिर २३ मा सात करोड २० लाखको ‘ऐनस्थेसिया मेसिन’ किन्न टेन्डर आव्हान गर्यो जसको स्पेशिफिकेशन लक्ड ( निश्चित कम्पनीले उत्पादन गरेको मेसिनसँग मात्र मिल्ने प्रावधान) गरिएको थियो।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशन ( मेसिनमा के-के सुविधा र विशेषता हुनुपर्ने निश्चित गर्ने मापदण्ड) हेर्दा भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगका बुँदा नै कपिपेशष्ट गरेर टेन्डरको स्पेशिफिकेशन बनाएको खुल्यो।

यसले टेन्डरको सार्वजनिक आव्हान गर्नु अगाडि नै ‘बीपीएल’को ‘इ–फ्लो’ को नेपाली सप्लायर्सले प्रस्ताव गर्ने मापदण्ड मात्र पास हुने गरी स्पेशिफिकेशन बनाएको देखियो। स्पेशिफिकेशन संशोधनपछि पनि लक्ड गरिएका बुँदाहरू हटेनन्। बीपीएल को इ-फ्लोको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालि र सञ्चालक पोस्टराज ज्ञवाली हुन्।

उकेराले यस अघि नै ‘ऐनस्थेसिया मेसिन’को कुन कुन बुँदाका प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदा नै कपिपेशष्ट गरेर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी स्पेशिफिकेशन बनाइयो भन्ने विषयमा समाचार सम्प्रेषण गरिसकेको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘ऐनस्थेसिया मेसिन’को बुँदा नम्बर ‘३.२९’, ‘३.३९’, ‘३.४२’, र ‘४.२०’ भएका मापदण्ड सामान्य रूपमा संशोधन गरेको देखिए पनि त्यसले टेन्डरलाई खुल्ला प्रतिस्पर्धा गराउन सक्ने देखिएन। बीपीएलको उत्पादनलाई मात्र मिल्ने गरी राखिएका मुख्य बुँदाहरू कायमै राखियो। यसले नीतिगत रूपमा मापदण्डमा खेलेर आर्थिक अनियमितता गर्ने रणनीति अनुसार यो टेन्डर अगाडि बढेको देखाउँछ।

टेन्डर आह्वान गर्दाको टेन्डर कागजातको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२९’ मा ‘द वर्कस्टेशन मस्ट ह्याभ इन्टग्रेटेड बुइल्ट–इन भेन्टिलेटर क्यापेबल अफ डेलिभरिङ प्रेसिज् भेन्टिलेसन फर एडल्ट टु पेडियाट्रिक पेशेन्ट्स वीथ एडभान्स्ड प्रपोर्शनल सोलेन्वाइड भ्यालु टेक्नोलोजी,’ लेखिएको थियो।

त्यो बुँदालाई संशोधन गरेको जस्तो गर्दै ‘द वर्कस्टेशन मस्ट ह्याभ इन्टग्रेटेड बुइल्ट–इन भेन्टिलेटर क्यापेबल अफ डेलिभरिङ प्रेसिज् भेन्टिलेसन फर एडल्ट टु पेडियाट्रिक पेशेन्ट्स वीथ एडभान्स्ड प्रपोर्शनल सोलेन्वाइड भ्यालु टेक्नोलोजी अर  सिमिलर टेक्नोलोजी’ बनाइयो।

यो बुँदामा ‘... अर  सिमिलर टेक्नोलोजी’ भन्ने थपिएको छ। जसको अर्थ उस्तै भए पनि हुन्छ भन्ने नै हो। तर, अर  सिमिलर टेक्नोलोजी’  थप्दैमा लक्ड नखुल्ने र झुक्याउन मात्रै यस्तो शब्द थपिएको टेन्डर डकुमेन्टले नै देखाउँछ।

यस अघि नै उकेराले ‘३.२९’ मा राखिएका स्पेशिफिकेशनका यो बुँदा हेर्दा भाषा मात्रै मिलाएर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगबाट कपिपेष्ट गर्दै प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको प्रस्टै देखियो।

त्यसैगरी टेन्डर आह्वान गर्दा ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३९’ मा ‘सुड ह्याभ मिनिमम ८” इन्च कलर टीएफटी डिस्प्ले वीथ नाभिगेटिङ ह्वील फर इजी अप्रेसन। सर्ट कट किइज् सुड बी प्रोभाइडेड फर इमर्जेन्सी फंशन्स्’ लेखिएको थियो।

जुन बुँदा ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगमा भएको स्पेशिफिकेशनको बुँदाको भाषा मात्रै मिलाएर कपिपेशष्ट गर्दै लक्ड गरेको प्रस्टै देखिन्छ। बुँदा नम्बर ‘३.३९’ यो बुँदालाई संशोधन गर्दै ‘सुड ह्याभ एप्रोक्स। ८” इन्च अर मोर कलर टीएफटी डिस्प्ले वीथ नाभिगेटिङ ह्वील फर इजी अप्रेसन। सर्ट कट किइज् सुड बी प्रोभाइडेड फर इमर्जेन्सी फंशन्स्’ लेखियो।

यो  बुँदालाई संशोधन गर्दै ‘... एप्रोक्स। ८” इन्च अर मोर’ जस्ता शब्द राख्दै भाषा मात्रै घुमाइयो। यसले प्राविधिक स्पेशिफिकेशनमा भएको लक्ड खुलाएर खुला गराउँदैन। यो संशोधन गरेको देखाउन मात्र राखिएको प्रस्टै देखिन्छ।

त्यसैगरी ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.४२’ मा ‘सुड ह्याभ इन्टरनल ब्याक्अप फर मोर द्यान १८० मिनट्स अर मोर ब्याट्री सुड बी लिथियम ब्याट्री’ उल्लेख थियो। यो बुँदा संशोधन गर्दै ‘सुड ह्याभ इन्टरनल ब्याक्अप फर १२० मिनट्स अर मोर ब्याट्री सुड बी लिथियम ब्याट्री’ बनाइयो।

यो बुँदा पनि ‘१८० मिनट्स अर मोर ब्याट्री सुड बी लिथियम ब्याट्री’को ठाउँमा ‘१२० मिनट्स अर मोर ब्याट्री सुड बी लिथियम ब्याट्री’ राखियो। यो बुँदामा पनि  भाषा मात्र घुमाएर उही प्रावधान कायम गरियो। यसले चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी बनाइएको प्राविधिक स्पेशिफिकेशनका मुख्य लक्ड बुँदा जस्ताको तस्तै राखेको देखियो।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२०’ मा ‘सुड ह्याभ डिभीआई पोर्ट फर स्लाभ-एक्टर्नल डिस्प्ले’ राखिएको थियो। यो बुँदालाई संशोधन गर्दै ‘सुड ह्याभ डीभीआई-भीजीए-एचडीएमआई अर सिमिलर पोर्ट फर स्लाभ-एक्सटर्नल डिस्प्ले’ लेखियो। संशोधित यो बुँदाले पनि लक्ड भएको प्राविधिक स्पेशिफिकेशनलाई खुला गरेर अन्य कम्पनी पनि प्रतिस्पर्धामा भाग दिने अवस्था निर्माण गरेन। यसले पनि खरिदमा भएको मिलेमतो प्रस्ट्यायो नै।

‘ऐनस्थेसिया मेसिन’का यी सबै बुँदा हेर्दा मुख्य बुँदाहरू संशोधन नगरी  झुक्याउन मात्र संशोधन गरेको देखिन्छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३४’, ‘३.१०’, ‘३.२१’ ‘३.३३’, ‘६.१’, ‘७.२’ लगायतका  बुँदाहरू  लक्ड गरेर भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदा नै कपिपेशष्ट गरेकोबारे यसअघि नै उकेराले प्रमाणसहित समाचार सम्प्रेषण गरिसकेको छ। संशोधन गरिएका भनिएका बुँदा हेर्दा खरिदमा भएको मिलेमतो कायमै देखियो।

महाशाखाले टेन्डर आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३५–एमडी–२०८१–८२’ हो।

सात करोडको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ पनि झुक्क्याउने लक्ड

महाशाखाले मंसिर २३ मै सात करोड २० लाखको बजेट सिलिङ राखेर ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि गरेको टेन्डरको पनि प्राविधिक स्पेशिफिकेशनको एउटा बुँदा संशोधन गर्यो। तर, त्यो बुँदा झारा टार्ने गरी संशोधन गरेको देखियो। संशोधित बुँदाले लक्ड गरिएको प्राविधिक स्पेशिफिकेशनलाई खुला गराउँदैन।

एउटै टेन्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी)’ र ‘इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन) ४०० वाट’को टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडी बढेको थियो।

जसमध्ये ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी) २५ सेट’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’ ५० सेट खरिदका लागि टेन्डर भएको टेन्डरमा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर गरेको खरिदमा मिलेमतो गरिएको छ।

टेन्डरको स्पेशिफिकेशनले यो इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढाएकोबारे यसअघि नै उकेराले खुलासा गरिसकेको छ। यसको नेपाली सप्लायर पर्सा इम्पोरियम हो। यसको सञ्चालक हुन् शशी श्रीवास्तव।

एलईडी डट एसपिए नामक इटालियन उत्पादक कम्पनीको मोडल नम्बर “सुर्टन ४००एचपि“को ईलेक्ट्रो सर्जिकल युनिट मेसिन खरिद गर्नेगरि स्पेशिफिकेशन लक्ड गरिएको देखिन्छ। जसले गर्दा सिटिजि र ईलेक्ट्रो सर्जिकल युनिट दुवैको टेन्डर एउटैलाई पर्छ।

‘(सिटीजी एन्ड) इलेक्ट्रो सर्जिकल युनिट’को बुँदा नम्बर ‘४.८’मा ‘कन्ट्रोल प्यानल वीथ डिजिटल सेटिङ एन्ड  डिस्प्ले अफ पावर अफ मोडेल्स युज एन्ड सुड ह्याभ १० अर मोर कन्फिगुरेबल मेनु वीथ इमिडियट रिकल फिचर’ उल्लेख थियो।

यो बुँदालाई संशोधन गरेजस्तो गर्दै ‘कन्ट्रोल प्यानल वीथ डिजिटल सेटिङ एन्ड एलसीडी-एलइडी-अर ७ सेग्मेन्ट डिस्प्ले टु शो पावर अफ मोडेल्स युज एन्ड सुड ह्याभ १० अर मोर कन्फिेगुरेबल मेनु वीथ इमिडियट रिकल फिचर’ लेखियो।

तर, डिस्प्ले कम्पनीको आफ्नो प्रविधि अनुसारको हुन्छ। त्यसैले इलेक्ट्रो सर्जिकल युनिट’को बुँदा नम्बर ‘४.८’ संशोधन गरेर ‘एलसीडी-एलइडी-अर ७ सेग्मेन्ट डिस्प्ले’ राख्दैमा प्राविधिक स्पेशिफिकेशनको लक्ड खुला हुने देखिएन। अन्य प्रणाली र मुख्य बुँदा संशोधन नगरिएकाले यो एउटा मात्रै बुँदा झारा टार्न मात्रै संशोधन गरेको प्रस्टै देखियो।

इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन)४०० वाट’को प्राविधिक स्पेशिफिकेशनको ‘३.१’, ‘४.१’, ‘४.९’, ‘४.१०’, ‘७.२’ लगायतका बुँदाहरू लक्ड गरेर इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढेको देखिन्छ।

यी मुख्य बुँदाहरू संशोधन नभएकाले अब इटालियन उत्पादक कम्पनी ‘लिड’को (‘सुरट्रोन ४०० एचपी’ मोडलकै) नेपाली सप्लायर्सलाई टेन्डर पर्ने देखिन्छ।

महाशाखाले टेन्डर आह्वान गरेको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३८–एमडी–२०८१–८२’ हो।

 ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’मा संशोधन नै नगरी ‘कार्ल स्टोर्ज’को खरिद

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ उपकरण किन्न गरेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन त संशोधन नै गरेन।

यसको प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादकसँग मात्र मिल्ने गरी बनाइएको छ। ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को स्पेशिफिकेशनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’सँग मिल्ने गरी बनाइयो। यो खरिद कार्ल स्टोर्जको नेपाली सप्लायर्सलाई दिनेगरी मिलेमतो गरिएको प्रस्टै देखिन्छ।

‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्ट अमर श्रेष्ठ हुन्। सामान्यतः उनले ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि (एचएमटी)’बाट टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ।

‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को टेन्डरको प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदा हेर्दा ‘कार्ल स्टोर्ज’लागि मात्रै मिल्ने गरी लक्ड गरेको प्रस्ट देखिँदा समेत यसको प्राविधिक स्पेशिफिकेशन संशोधन नहुनुले नै यो खरिदमा विभागका अधिकारीहरूको बदनियत देखिन्छ।

‘४के–३डी ल्याप्रोस्कोपिक स्टिम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.७’, ‘३.१२’ लगायतका बुँदामा भएका प्रावधान ‘कार्ल स्टोर्ज’को क्याटलगबाट सर्लक्क लिएर  स्पेशिफिकेशनमा राखिएको देखिँदा समेत संशोधन नगरी खरिद प्रक्रिया अगाडि बढाएको छ विभागले।

महाशाखाले टेन्डर आह्वान गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३२–एमडी–२०८१–८२’ हो।

चितवनको भरतपुर अस्पतालले एक वर्ष अघि २०८० जेठ २२ मा  टेन्डर गरेर ‘कार्ल स्टोर्ज’कै ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ एउटा (एक सेट) खरिद गरेको थियो। भरतपुर अस्पतालले एक करोड ६४ लाख ९८ हजार (एक करोड ४६ लाख प्लस भ्याट) यो मेसिन खरिद गरेको अस्पताल स्रोतले जानकारी दियो।

निजामती कर्मचारी (सिभिल)अस्पतालले पनि २०८० चैत २१ मा मूल्य अभिवृद्धि कर सही चार करोड ९८ लाख ५५ हजार पाँच सय ५४ मा  ‘कार्ल स्टोर्ज’कै दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ खरिद गरेको थियो।

यी दुवै अस्पतालमा मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजी प्रालि(एचएमटी)ले टेन्डर पाएको थियो। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा पनि प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएकाले भरतपुर र निजामती कर्मचारी अस्पतालमा टेन्डर पाएको जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्स (एचएमटी)ले ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को  टेन्डर पाउने करिब निश्चित छ।

भरतपुर, निजामती कर्मचारी अस्पतालमा किनिएको अनि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ एउटै किसिमको हो। भरतपुरले ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’मा क्यामेरा हेड मात्रै ‘टु डी’को माग गरेको थियो।

जसले मूल्यमा २०–२५ लाख अन्तर गराउने एक जानकारले बताए। बाँकी तीन ठाउँकै स्पेशिफिकेशन पनि उस्तै देखिएको छ। टेन्डर पाउने उत्पादक कम्पनी पनि एउटै हो। तर, एकै किसिमको मेसिन फरक फरक मूल्यमा किनिएको र किन्ने प्रक्रियामा विभागका अधिकारी सक्रिय देखिएकाले खरिद प्रक्रिया अगाडि नै मिलेमतो गरी टेन्डर आव्हान गरेको देखिन्छ।

स्वास्थ्य उपकरण खरिदमा मिलेमतो सम्बन्धित समाचार

माघ ३, २०८१ बिहीबार २३:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।