उकेरा टप फाइभ : कलाकार कमलको हिजोको कुरादेखि 'कामी' शब्द बारेको बहससम्म

उकेरा टप फाइभ : कलाकार कमलको हिजोको कुरादेखि 'कामी' शब्द बारेको बहससम्म

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन्। बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। कांग्रेसबाट बनेका मन्त्रीहरूले भने सभापति देउवासमक्ष सरकारले सोचेअनुसारको काम गर्न नसकेको ब्रिफिङ गरेका थिए। बैठकबाट निस्किएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढे पनि अझैपनि यसमा समस्या रहेको ब्रिफिङ गरेको बताए। 

जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्। १०४ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू ठूलो सर्ट खेल्ने क्रममा ७४ रनमा समेटियो।

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ। अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ।

घरमा चोरी गर्न आएका व्यक्तिले चक्कु हान्दा बलिउड अभिनेता सैफ अलि खान गम्भीर घाइते भएका छन्। बुधवार राती साढे दुई बजे मुम्बईको बान्द्रास्थित घरमा उनलाई चोरी गर्न आएका व्यक्तिले चक्कु प्रहार गरेका हुन्। मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका उनको शल्यक्रिया भएको छ। ६ पटक चक्कु प्रहार हुँदा उनको घाँटी र मेरुदण्ड लगायतमा गम्भीर चोट लागेको छ। अहिले उनी खतरामुक्त छन्। घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ। 

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

४० वर्षअघि नाटकमा जमेका कलाकार हुन्- कमल बोहोरा। स्कुलबाट नै नाटकमा लागेका कमलले थुप्रै नाटक तथा सिरियलमा अभिनय गरे। उनले फिल्म ‘राजु राजा राम’, ‘न्याय अन्याय’, ‘मेरो माया तिमीलाई’, ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’मा काम गरे। अहिले उनी ‘जुना’मा मुख्य भूमिकामा छन्। त्यो फिल्म माघ २५ देखि प्रदर्शनको तयारीमा छ। चार दशक कलाकारितामा बिताएका काठमाडौंका रैथाने बोहराले आफ्ना जीवनका अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिएः
पूरा समाचार: कलाकार कमलको हिजोको कुरा : काँडाघारीमा २५ हजारमा एक रोपनी जग्गा पाइने बेला सिरियलमा ३ लाख डुबाएपछि तरकारी खेती गरेँ

नेपालमा बसेर भारतमा अनलाइन ठगी गर्ने चिनिया नागरिकलाई भारतीय पूर्व प्रहरीको योजनामा अपहरण गरेर भारत लैजाने योजना असफल भएको छ। काठमाडौंको ठमेल क्षेत्रबाट भारतीय नागरिकहरूले एक चिनियाँ नागरिकलाई अपहरण गरी गाडीमा जबर्जस्ती राखेको सूचना बेलैमा प्रहरीमा पुग्दा गम्भीर प्रकृतिको क्रस बोर्डर क्राइम सफल हुनबाट जोगिएको हो। ठमेलको एक होटेलमा बसेका चिनिया नागरिक, जो अनलाइन ठगीमा संलग्न देखिएका छन् उनीसँग ठगीको रकम असुल्न भारतबाट निलम्बित प्रहरीको कमान्डमा आएको टोलीले अपहरण गरेर भारत लैजाने प्रयास गरेको थियो।
पूरा समाचार: नेपालमा चिनियाँ स्क्यामरको अपहरणमा भारतीय पूर्व प्रहरी योजनाकार : ठमेलबाट अपहरण गरेर भारत लैजाँदा भिमफेदीमै पक्राउ

नेपालको सबैभन्दा जेठो राष्ट्रिय सङ्ग्रहालयमा वर्षौँ पुरानो मानव सभ्यता संग्रहित छ। प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहार समेत समेटिएको सङ्ग्रहालयमा आगन्तुक भने निकै कम छन्। अन्य देशमा पर्यटकहरूलाई घुमाउँदा सङ्ग्रहालयलाई समेत प्राथमिकता दिने गरिन्छ। तर छाउनी सङ्ग्रहालयको रूपमा परिचित राष्ट्रिय सङ्ग्रहालयमा अध्ययनमा रुचि राख्ने पर्यटक मात्र पुग्छन्। १९२८ सालमा हतियार सङ्ग्रहालयका रूपमा प्रधानमन्त्री भीमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणले हेर्न पाउँदैनथे।
पूरा समाचार: १० रुपैयाँमा हेर्न सकिन्छ हजारौं वर्ष पुरानो नेपाली इतिहास, तर आगन्तुक निकै कम

आफूमाथि अरू कसैले कामी भन्दै गर्दा प्रकाश सपूतले चित्त दुखाएको पनि सम्झना छ। विश्वकर्मा लेख्दा व्यहोर्नुपर्ने विभेदबाट जोगिन थर लुकाएर सपुत लेखेको पनि देखिएकै छ। तर अरूलाई हाकाहाकी कामी भन्न चैँ कसरी सकेको होला! प्रस्तुत छ, उकेराकर्मी सुबिन विश्वकर्माले 'कामी' शब्दबारे लेखेको लेख। 
पूरा समाचार: शब्दमा लुकेको विभेद : आफ्नो जात लुकाउन सपुत लेख्नेले अर्कालाई हाकाहाकी कामी भन्न कसरी सकेको?

एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ। क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा बिक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ। चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको औद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ। साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत बिक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन्।
पूरा समाचार: चीनमा स्मार्टफोन कम्पनी एप्पलको बिक्री घट्यो, हुवावेको बढ्यो

माघ ३, २०८१ बिहीबार २१:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।