च्याट जिपिटीले अह्राएको गर्छ, साँचो र झुटो धेरै छुट्याउँदैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको बताए।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको बताए।
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरू हुनु अगावै वेद-विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको दाबी गरेका छन्।
'चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफैं बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ, उनले भने।
प्रधानमन्त्री ओलीले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए।
उनले भने, 'च्याट जिपिटी पनि नयाँ कुरा होइन। एआई पनि नयाँ कुरा होइन। हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौं। त्यसका खतरनाक पक्षहरू छन्। ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ। त्यसले अह्राएको गर्छ, साँचो र झुटो धेरै छुट्याउँदैन। त्यो कुनै चित्रगुप्त होइन। अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ। त्यो बुझ्न सतर्क हुनुपर्छ।'
२०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे।
माघ ३, २०८१ बिहीबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।