बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड

बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

चितवनको माडी नगरपालिका-१ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी-जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताए। 

उनले भने, ‘बोटे समुदायलाई आदिवासी-जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ। मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु। तपाईंहरु जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि प्रगति हो।’

त्यस अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए। 

बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षात्कार गरेका थिए। 

माघ ३, २०८१ बिहीबार १६:३३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।