कलाकार कमलको हिजोको कुरा : काँडाघारीमा २५ हजारमा एक रोपनी जग्गा पाइने बेला सिरियलमा ३ लाख डुबाएपछि तरकारी खेती गरेँ

कलाकार कमलको हिजोको कुरा : काँडाघारीमा २५ हजारमा एक रोपनी जग्गा पाइने बेला सिरियलमा ३ लाख डुबाएपछि तरकारी खेती गरेँ

४० वर्षअघि नाटकमा जमेका कलाकार हुन्- कमल बोहोरा। स्कुलबाट नै नाटकमा लागेका कमलले थुप्रै नाटक तथा सिरियलमा अभिनय गरे। त्यो समयमा हत्तपत्त सिरियलमा अभिनय गर्न सोर्सफोर्स चाहिन्थ्यो। त्यसैले उनले अलि बढी आफूलाई नाटकमा नै लगाए। पछि सिरियल गर्न मन लागेपछि तीन लाख रुपैयाँ जुटाएर पाँच भागको सिरियल बनाए।

आफ्नो खर्च भइसके पनि निर्देशकले राम्रो काम नगरिदिएपछि त्यो बोकेर नेपाल टेलिभिजन जाने आँटै आएनछ उनलाई। त्यसपछि उनी अरूको नाटक र सिरियलमै रमाए। घरमा बस्दा तरकारी खेती गरेर बेच्न कालीमाटी पुर्याउँथे। कलाकारितालाई लगभग बिट मारिसकेको अवस्थामा कालीमाटीमा उनले लय संग्रौलालाई भेटे।

संग्रौलासँग चिनजान भए पनि सहकार्यको अवसर भने जुटेको थिए। त्यहीबीचमा लयले उनलाई आफूले निर्माण गर्न लागेको सिरियल ‘उद्घाटन’मा अभिनय गर्न आग्रह गरे। उनले नकार्ने कुरै भएन। त्यसपछि उनले नेपाल टेलिभिजनले उत्पादन गर्ने धारावाहिक सिरियल ‘थोरै भए पुगिसरी’मा काम गरे।

त्यसपछि उनले फिल्म ‘राजु राजा राम’, ‘न्याय अन्याय’, ‘मेरो माया तिमीलाई’, ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’मा काम गरे। अहिले उनी ‘जुना’मा मुख्य भूमिकामा छन्। त्यो फिल्म माघ २५ देखि प्रदर्शनको तयारीमा छ। चार दशक कलाकारितामा बिताएका काठमाडौंका रैथाने बोहराले आफ्ना जीवनका अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिएः

त्यो विकट काँडाघारी
म २०२६ सालमा निम्न मध्यम वर्गीय परिवारमा काँडाघारीमा जन्मिएको हुँ। पहिला गोठाटार गाउँ पञ्चायत भन्थे, पछि गाउँपालिका हुँदै अहिले कागेश्वरी मनोहरा नगरपालिका भएको छ। खेती किसानीबाटै हाम्रो जीविका चलेको थियो। मैले गाउँकै गान्धी आदर्श माध्यमिक विद्यालय पढेर २०४२ सालमा एसएलसी पास गरेँ।

त्यतिबेला काँडाघारी पुरै गाउँ थियो। घरहरू विस्तारै बढेका हुन्। हामी खेतीपातीमा नै निर्भर थियौँ। म तरकारी खेती गरेर मात्रै नाटक खेल्न जान्थेँ। काठमाडौं आउनका लागि बाटो नै थिएन। खोला तरेर आउनुपर्थ्यो। बर्खाको बेलामा बागमती उर्लिएर आएपछि त हिँडडुल गर्नै सकिँदैनथ्यो। हाम्रो मुख्य बजार भक्तपुर नै थियो।

काठमाडौंबाट नजिकै भए पनि अति विकट ठाउँ हो यो। एअरपोर्टबाट पूर्वतिर एकदमै अविकसित थियो। अहिले आयल निगमको ठूल्ठूला ट्याङ्की राखेको स्थानमा त्यो बेला पूरै खाली थियो। पछि सरकारले मुआब्जा दिएर एअरपोर्ट बढाएको हो।

स्कुलमै नाटक
नाटकमा सानैबाट चासो भएकाले गाउँमै समूह बनाएर नाटक खेलिन्थ्यो। स्कुलमा सिनियर दाइहरूले गरेको कार्यक्रममा अभिनय गर्थेँ। त्यतिबेला हुने सडक नाटकमा धेरै पटक सहभागी भएको छु। सडक नाटक गर्न एकदमै मज्जा लाग्थ्यो।

एसएलसीपछि भने बागबजारमा नृत्य प्रशिक्षण केन्द्रमा जोडिएँ। त्यहाँ नृत्य र अभिनय मुकुन्दकिशोर भट्टराई गुरुले सिकाउनुहुन्थ्यो। मैले उहाँबाट नै अभिनय सिकेको हो। अनि अर्को सूर्य मिश्र गुरुको नाट्यश्वरी कलामन्दिर थियो। त्यहाँबाट चाहिँ चार महिना जति नृत्य सिकेँ। त्योभन्दा बढी सिक्न समय र पैसोले साथ दिएन।

२०४५/४६ सालमा विनोद सिलवाल र सन्तबहादुर थापासँग मिलेर हामीले त्रिशक्ति कलामन्दिर भन्ने नाट्य समूह खोल्यौँ। यो समूहमार्फत हामीले राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह लगायतका ठाउँमा हल बुक गरेर नै नाटक देखाउन थाल्यौँ। धेरै पटक काठमाडौं बाहिर पनि गयौँ।

त्यतिबेला नाटकघरमा नाटक गर्ने चलन कम थियो। यद्यपि गर्दै नगर्ने भने होइन। हामीलाई पनि नाटक घरमा भन्दा खुला ठाउँमै गर्दा रमाइलो लाग्थ्यो। त्यतिबेला माइक र स्पिकरको खासै चलन थिएन। भीड धेरै भएपछि हल्ला पनि भइहाल्थ्यो। सबैलाई चुप लगाउन नै धेरै समय लाग्थ्यो।

काम माग्न नसकेरै पछि परेँ
त्यो बेला अधिकांश कलाकारहरूसँग भेटघाट र चिनजान हुन्थ्यो। अपरिचित भनेको कमै हुन्थे। कुन कलाकार र निर्देशकले के गर्दैछ भन्ने थाहा हुन्थ्यो। त्यतिबेला काम माग्न कहिल्यै गइँन म। मलाई त्यसरी माग्न जानै सक्दिनँ। अहिलेसम्म पनि ममा त्यो बानी कायमै छ। त्यही भएर नै आफ्नै नाट्य समूह बनाएँ।

नाटक नै देखाउनका लागि काठमाडौं उपत्यका अनि उपत्यका बाहिर पनि जान थालेपछि हाम्रो नाट्य समूह सिरियल बनाउन भनेर हौसियौँ। यो २०४६ सालतिरको कुरा हो। त्यतिबेला सिरियलको सुरुवात भएको थियो। नेपाल टेलिभिजनमा फाट्टफुट्ट सिरियलहरू आउँथे।

बनाएर सिरियल कि नेपाल टेलिभिजनमा बज्थे कि त त्यत्तिकै थन्किन्थे। टेलिभिजनमा प्रसारण भएको सिरियलमा सानो भूमिकामा देखियो भने पनि दर्शकले चिनिहाल्थे। सान नै बेग्लै हुन्थ्यो।

आफैँ सिरियल बनाउनका लागि हामीले एक जना निर्देशक लिएर पाँच वटा जति भाग पनि बनायौँ। तीन लाख रुपैयाँ जति खर्च पनि गर्यौँ। तर, सोचअनुसारको कार्यक्रम बनेन। निर्देशकले राम्ररी काम नगर्दा त्यो सिरियल बोकेर नेपाल टेलिभिजन जान हामीले नै आँट गर्न सकेनौँ।

त्यतिबेला तीन लाख भनेको धेरै ठूलो रकम थियो। काँडाघारीमा रोपनीको २५ हजार रुपैयाँमा जग्गा आउँथ्यो। अहिले आना कै ५०/६० लाख पुग्यो। यही लाइनमा लागेर पढाई छोडियो, पैसा पनि फसाइयो। त्यसपछि त घरमा पनि गाली गर्न थालिहाले नि!

बुवालाई त्यही बेला क्यान्सर भयो। त्यसपछि भने कलाकार बनेर खाइँदैन भन्ने लाग्यो। बुवा र परिवारले म कलाकार बन्न आएको खासै मन पराउनुभएको थिएन। कला क्षेत्रमा लगानी गर्दा पनि उपलब्धि केही नभएपछि मन मर्यो। बुवाको निधनपछि परिवारको जिम्मेवारी आफ्नो काँधमा आयो। विदेश जान खोजेँ। दलालले पैसा खाइदियो।

त्यसपछि तरकारी खेतीमा लागेँ। तरकारी बेच्न कालीमाटी जाँदा लेखक तथा निर्देशक लय संग्रौलासँग भेट भयो। चिनजान त सडक नाटक गर्दैदेखि थियो। तर, सिरियलमा अभिनय गर्छु काम देऊ भन्ने हिम्मत नहुँदा सहकार्य चाहिँ भएको थिएन।

टिभीमा अनुहार देखेपछि परिवारै खुसी
लय संग्रौलालाई आफ्नो सबै कुरा सुनाएपछि उहाँले ‘यति राम्रो कलाकार हराएर हुन्छ? अब तपाईं कलाकारितामा फर्कनुपर्छ’ भन्नुभयो। त्यहाँबाट लय दाइले मलाई सिरियल ‘उद्घाटन’मा हिरोको साथीको रोल दिनुभयो। मलाई पनि के चाहियो र? मैले काम गर्न थालेँ।

घर परिवारलाई कलाकारिता गरेको मन परेको थिएन। आफूलाई मनमा भने सिरियल खेल्न पाए हुन्थ्यो भन्ने थियो। घरमा ढाँटेर सिरियलमा अभिनय गर्न जान थालेँ। त्यतिबेला अरु च्यानल नभएकाले सबैले नेपाल टेलिभिजन हेर्थे। नेपाल टेलिभिजनबाटै सिरियल प्रसारण हुन्थ्यो। त्यहाँ अनुहार देखिन थालेपछि घरकाले थाहा पाए।

टिभीमा अनुहार देखेपछि भने सबै जना खुसी हुनुभयो। एक पैसा पनि खर्च नभई टेलिभिजनमा देखिन थालेपछि भने घरमा भने ‘ए राम्रै रहेछ क्यारे’ भन्ठान्नुभएछ। त्यसपछि भने सहयोग मिल्न थाल्यो। त्यसपछि भने ‘जीवन चक्र’, ‘थोरै भए पुगिसरी’, ‘आमा’ लगायत थुप्रै सिरियलमा अभिनय गरेँ मैले। हप्ताभरी केही न केही सिरियलमा म देखिएकै हुन्थेँ।

कलाकार ठग्नेको बिगबिगी 
त्यो समयमा कलाकार ठग्नेहरूको बिगबिगी थियो। युट्युब आएपछि झनै मौलायो। ‘पैसा छैन सर, थोरैमा गरौँ, हात खाली गर्दिनँ’ भनेर १२ दिन दिनभरि खटाएर हजार रुपैयाँ दिए।

त्यसैगरी अर्को सिरियलमा ४० भाग काम गर्दा पनि पारिश्रमिक पाइएन। ‘अर्को पटक गरौँला है’ भन्दै दिएनन्। पैसा यति नै चाहिन्छ है भनेर डिमाण्ड गरेको पनि होइन। तर, दुःख धेरै गराउने अनि घर फर्कँदा घरसम्म पुग्ने भाँडा नै भएन त मजा आएन नि!

एउटा सिरियलमा त मेरो छोरा नै पाँच वटासम्म फेरियो। पछि बुझ्दै जाँदा जसले पैसा दियो, उसैलाई खेलाइँदो रहेछ। यस्ता थुप्रै घटनाहरू हुन्थेँ र अहिले पनि छन्।

माघ ३, २०८१ बिहीबार १८:५३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।