कांग्रेसका मन्त्रीहरूले देउवालाई भने 'सरकारले सोचेअनुसारको काम गर्न सकेको छैन'
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन्।
बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
उनले भने, 'सभापतिको भनाई यही हो। एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो। हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निष्कर्ष हो।'
उनले बैठकमा मन्त्रीहरूसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढि भन्दा बढि सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेर काम गर्ने कुरामा छलफल भएको बताए।
सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसद्को चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको छ।
सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिएका छन्।
तर, कांग्रेसबाट बनेका मन्त्रीहरूले भने सभापति देउवासमक्ष सरकारले सोचेअनुसारको काम गर्न नसकेको ब्रिफिङ गरेका थिए।
बैठकबाट निस्किएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढे पनि अझैपनि यसमा समस्या रहेको ब्रिफिङ गरेको बताए।
'सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन। तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने जति अगाडि बढ्नुपर्ने त्यो कुरा कहीँ न कहिबाट समस्या भएको महसुस गरेका छन्’ उनले भने, ‘तर, हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरू बताइरहनुभएको छ।'
कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन्।
केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट मन्त्री हुनेहरूमा उपप्रधान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन्।
त्यसैगरी रुपा विकले वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारीमा छन्।
माघ ३, २०८१ बिहीबार १५:४३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।