सहकारी पीडितका पक्षमा बहस गरेका अधिवक्ता त्रिपाठीलाई हातपात गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग
काठमाडौं : नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक वहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको हुने भन्दै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको कांग्रेसको भनाई छ।
विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने बताउँदै कांग्रेसले यस घटनाको घोर निन्दा र भर्त्सना गरेको छ।
बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा तथा रवि समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए।
रास्वपा सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारीका पीडितको त्रिपाठीले पक्षबाट बहस गरेका थिए।
माघ ३, २०८१ बिहीबार १५:०८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।