शब्दमा लुकेको विभेद : आफ्नो जात लुकाउन सपुत लेख्नेले अर्कालाई हाकाहाकी कामी भन्न कसरी सकेको?

शब्दमा लुकेको विभेद : आफ्नो जात लुकाउन सपुत लेख्नेले अर्कालाई हाकाहाकी कामी भन्न कसरी सकेको?

केही महिनाअघि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई संसदबाटै ‘चेली’ भनिदिए। अरूलाई राम्रै लाग्यो होला, सुमना आफैँलाई त्यस शब्दले विभेद गरेको महसुस भयो। अनि उनले ‘चेली’ शब्दप्रति संसदबाटै आपत्ति जनाइन्।

उनलाई लाग्यो- चेली शब्दद्वारा म माथि विभेद गरियो। चेली शब्दले दयाको पात्र बनाउँछ। तर, महिला भनेको आन्दोलनको नाम हो। जसले अधिकार खोज्छ, सायद सुमनालाई यस्तै लागेको हुँदो हो। अब सुमना आफैँलाई विभेदित/अपमानित/तिरस्कृत महसुस भयो भने अरूले हैन भनेर हुन्छ र? हुन्न नि! किनकि विभेद भनेको भोगाइ हो।

औँला कहाँ दुखेको छ भन्ने जुत्ता लगाएको व्यक्तिले मात्र बुझ्न सक्छ भनेजस्तै विभेद भोग्नेले मात्र बुझ्छ। सुमनाको कुरा पुरानो भइसक्यो।

आजको तात्तातो बहस अर्कै छ, त्यो हो- ‘बाहुनलाई बाहुन भन्दा हुने अनि कामीलाई कामी भन्न किन नहुने?’

हुन त यो बहस सदाबहार बहस नै हो। अहिले चाहिँ यसलाई सतहमा ल्याएका हुन् सर्जक प्रकाश सपूतले। मैले उनलाई किन सर्जक भनिरहेको छु भने, गायक/अभिनेता मात्रैले उनको परिचय अपूरो हुन्छ कि जस्तो लाग्छ कमसेकम मलाई। उनै प्रकाशले आफ्नो फिल्म ‘वसन्त’को गीतमा ‘कामी’ शब्द प्रयोग गरे।

०००

हामी त्यो समाजमा छौँ, जहाँ धेरैलाई थाहा छैन- विश्वकर्मा भनेको के हो? तर, उहाँहरूलाई राम्रोसँग थाहा छ- कामी भनेको ‘पानी नचल्ने जात’ हो। मैले अघि भनिसकेँ, विभेद भनेको भोगाइ हो। त्यसैले आफ्नै भोगाइको सन्दर्भ पस्किन चाहेँ।

मलाई सम्झना छ, पूर्वका सुदूर गाउँहरू जाँदा वृद्ध आमाहरूले  सोध्नुभएको, ‘अनि, तपाईं चाहिँ के थरी पर्नुयो?’ जवाफमा मैले विश्वकर्मा भन्दा ‘के हो यो भनेको?’ भन्नुहुन्थ्यो। तर, जब विश्वकर्मा भनेको कामी हो भन्नासाथ उहाँहरूको नाक खुम्चिएको मैले कयौंपटक महसुस गरेको छु। तीतो अनुभव सँगालेको छु।

पछि बुझ्दै जाँदा थाहा भयो- त्यो त ममाथि भएको विभेद रहेछ। अनि के तपाईंलाई ‘म’ पात्रमाथि यसरी विभेद गरिरहँदा खुसी मिल्छ त? पक्कै मिल्दैन।

मलाई मेरो विद्यालयले कामी भन्या के, दमाई भन्या के, सार्की भन्या के, गाइने भन्या के? चमार भन्या के…? कहिल्यै सिकाएन। विश्वविद्यालयले पनि सिकाएन। समाजले सिकाउने कुरै भएन। साहित्यले पनि सिकाएन, सिकाए पनि विकृत रूपले सिकायो। त्यसको परिमाण के भयो त?

प्रकाश विश्वकर्माहरू सपूत लेख्न थाले, शङ्कर विश्वकर्माहरू बिसी लेख्न थाले एवं रीतले काठमाडौं उपत्यकाका ४३ प्रतिशत डेरामा बस्ने मानिसहरू (पछिल्लो तथ्यांकअनुसार) मध्ये अधिकांशले थर ढाँट्नुपरेको पनि यसैको उपज हो। त्यसैले यसबारे ठिक किसिमको छलफल हुनुपर्छ।

जात ढाँट्ने विद्यार्थीहरूलाई पल-पलमा डर छ- यदि मैले आफ्नो नामको पछाडि थर लेखेँ भने, मलाई मेरो साथीले बिहेमा नबोलाउला कि, कर्मचारीलाई डर छ- शहरमा डेरा नपाइएला कि, कलाकारलाई डर छ- काम नपाइएला कि?

‘विश्वकर्मा’ मात्रै लेख्दा पनि यति धेरै विभेद सहनुपर्ला भन्ने मानसिक तनावले बाँचेका प्रकाश सपूतहरू कसरी हाकाहाकी ‘कामी’ शब्द प्रयोग गर्न सकिरहेका छन् होलान्? म निरूत्तरित छु।

०००

फेरि पनि मनको जिज्ञासा कसरी नराख्नु? मलाई सोध्न मन लागेको छ- प्रकाशजी, तपाईं आफैँले चाहिँ ‘कसैले मलाई विभेद गर्छ कि’ भन्ठानेर विश्वकर्मासम्म लेख्न सक्नुभएन। सिङ्गो विश्वकर्मा समुदायलाई चाहिँ किन कामी भन्नुभएको? फिल्म चलाउन? कि अरू केही कारण छ? तपाईँले ‘कामी’ भन्दै गर्दा मलाई अपमानित महसुस भयो, यसको हिसाब कसरी गर्नुहुन्छ? तपाईंलाई थाहै छ, विभेद गर्नु कानुनी अपराध हो।

प्रकाश सपूतको स्मरणका लागि- जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्साउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सङ्केत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ। सो कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाश सपूतको आफ्नो चाहिँ तर्क अजिबको छ, ‘यसलाई कसरी भनिएको छ भन्ने कुराले म्याटर गर्छ। यहाँ (वसन्त फिल्मको गीतमा) होच्याउने हिसाबले भनिएको छैन। होच्याएको जस्तो महसुस हुँदैन होला। त्यसलाई रमाइलो तरिकाले नै लिनुहुन्छ होला।’

अहो, कस्तो हल्का टिप्पणी। कति धेरै सतही बुझाइ। प्रकाश सपूतलाई स्मरण रहोस्- यो विषय कुनै सामान्य युवायुवतीको प्रेमको विषय हैन। यो सामाजिक, आर्थिक, राजनीतिक सवाल हो। दलित (उनकै शब्दमा कामी) समुदायको सह-अस्तित्वको मुद्दा हो। प्रतिनिधित्व र सहभागिताको सवाल हो। अनि हाम्रो हक, अधिकारको पनि मुद्दा हो।

यो लेख्दै गर्दा म सचेत हुन खोजिरहेको छु, व्यक्ति विशेष नहोस् यो लेख। अझ भनौँ, प्रकाश सपूत विशेष पनि नहोस्। यो त सिङ्गो सामाजिक चिन्तनको सवाल हो। प्रकाश सपूत फगत एक समाजका उत्पादन न हुन्।

०००

फेरि पनि मान्छेहरू भन्छन्- शब्दमा के राखेको छ र? म फेरि दोहोर्याउछु- हैन, नि! शब्दमा धेरै कुरा राखेको छ। २०११ सालयता प्रयोगमा आएको दलित शब्द आज संविधानले आत्मसाथ गरेको छ। त्यसै कारण दलितहरू सांसद बनेका छन्, मन्त्री बनेका छन्, वडा-वडामा सदस्य बनेका छन्। संवैधानिक आयोग ‘राष्ट्रिय दलित आयोग’ बनेको छ।

यही शब्दले दलितहरूलाई एकीकृत गराएको छ। आन्दोलन बचाइराखेको छ। आजसम्म कहीँकतै विश्वकर्मा आन्दोलन, परियार आन्दोलन भनेको प्राय सुनिँदैन। तर, दलित आन्दोलन सुनिन्छ। अझै पनि शब्दमै के राखेको छ भन्नू त भएन नि!

नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर विश्वकर्माले नेपालका दलित तथा सीमान्तकृत समुदायका युवाहरूले कूल मस्तिष्कको ६५ प्रतिशत हिस्सा त जातीय समस्याकै विषयमा सोचेर बिताउनुपरेको अध्ययन गर्नुभएको छ।

दलित समुदायका विद्यार्थी बालबालिकाको दिमाग विद्यालय तहमै साथीले मलाई ‘डोम, चमार, मुसहर, कामी, दमाई’ भन्ला कि भन्ने कुराहरूमै अल्झिएको हुन्छ। बाँकी ३५ प्रतिशत दिमागी क्षमता मात्र उनीहरूले पढाइमा लगाउन सक्दा दलित विद्यार्थीको नतिजा कमजोर भइरहेको उहाँको अध्ययनको निष्कर्ष छ।

अझ यसलाई अलि बृहत् भएर भन्दा, जात व्यबस्था हटाउनुपर्छ भनेको नामको पछाडि जोडिने जात प्रयोगविहीन समाज बनाउनुपर्छ भन्या हो। अनि त्यो भनेको, कामी, दमाई, मुसहर, डोम इत्यादि मात्रै भन्नुहुँदैन भनेको किमार्थ हैन। बाहुनलाई पनि बाहुन भन्नुहुँदैन, क्षेत्रीलाई क्षेत्री भनिराख्न जरुरी छैन। राईलाई राई भन्नू पर्दैन भनेको हो। राज्यको ध्यान यतातिर जानुपर्छ। अनि तपाईँ हामी नयाँ पुस्ताको पनि।

अँ, युवापुस्ताको सन्दर्भ आइहाल्यो। कतिपय दलित समुदायका नयाँ पुस्ताका साथीहरू ‘कामी हुनुमा गर्व छ, सार्की हुनुमा गर्व गर्छु’ भनेर बेला-बेला सामाजिक सञ्जालतिर कुर्लिरहनुहुन्छ।

लेखक तथा चिन्तक आहुतिको शब्दमा भन्दा- यदि कुनै तथाकथित कामीले ‘म कामी हुनुमा गर्व गर्छु’ भन्छ भने उसले ‘म दमाई, सार्की भन्दा ठुलो हुँ है’ भनेर घमन्ड गरेको बुझ्नुपर्छ। साँच्चै नै, कुनै जात विशेष भएर किन गर्व गर्नुपर्यो? जन्मिँदै कसैलाई सानो अनि कसैलाई ठूलो बनाउने कुरूप, अवैज्ञानिक, विभेदित जात व्यवस्था हटाउनु पो पर्छ।

०००

लेखलाई बिट मार्नुअघि प्रकाश सपूततिरै फर्किन मन लाग्यो। किनभने सपूतकै भिडिओमा प्रयोग गरिएको वाक्यको अन्तर्य बुझ्नुपर्छ कि जस्तो लाग्छ। तथाकथित बाहुनीले ‘...तिम्रो घर लैजाऊ न, लैजाउ भन्दा लाने हैन, डरछेरुवा कामी’ भनेकी छन्। यो वाक्यको समाजशास्त्रले भन्छ ‘तँ कामी (तथाकथित तल्लो जात) भएकै कारण मलाई बिहे गर्न सकिनस्।’

झट्ट हेर्दा दुई जना प्रेमी-प्रेमिकाले प्रेमपूर्वक भनिएको ‘डरछेरुवा कामी-उत्ताउली बाहुनी’ भनेको देखिन्छ। तर, यसको सामाजिक राजनीतिक अर्थ भनेको ‘म तथाकथित उपल्लो जातकी बाहुनी भएर पनि तँ तथाकथित नीच कामीसँग प्रेम गरेकी छु। तर, तैँले घर लैजान सकिनस् डरछेरुवा कामी।’ भनेर गरिएको अपमान हो। त्यसै कारण यो बहिष्करणको प्रश्न हो। समग्र विभेदको सवाल हो।

यो प्रकाश सपूतको आत्मकथा हैन, फिल्म हो। अनि यसमा जो वसन्त बनेका छन् ती प्रकाश सपूत हैन, दलितको प्रतिनिधि पात्र हुन्। त्यहाँ भनिएको कामी शब्द वसन्तका लागि हैन दलित समुदायको पात्रका लागि भनिएको हो। त्यसमा कसरी प्रेम हुनसक्छ?

०००

नेपाली बृहत् शब्दकोशले ‘कामी’लाई परम्परागत रूपमा फलामको काम गर्दै आएको एक जाति भनिएको छ। तर, वासनासँग जोडिने अर्थमा ‘कामी’लाई कामुक, विषयलम्पट पनि भनिएको छ। ‘डोम’लाई डुम र चाण्डालका रूपमा परिभाषित गरिएको छ। यस्ता आधा दर्जन बढी जाति विशेष शब्दको गलत अर्थ छ शब्दकोशमा।

‘कामी’ शब्दकै कुरा गरौँ। ‘कामी’ शब्द खारेज गर्न माग गर्दै मोरङका गोपाल लकान्द्री (विश्वकर्मा)ले २०७७ फागुन १९ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। जातीय विभेदको अनुभूति गराउने घृणित शब्द भए पनि सरकारका विभिन्न तथ्य तथ्याङ्क, महत्त्वपूर्ण दस्ताबेजहरूमा अझै ‘कामी’ शब्द प्रयोग भइरहेको खारेज हुनुपर्ने रिटमा माग दाबी छ।

रिटमा अझै पनि समाजमा कथित उच्च जाति भनाउनेहरूले यो त ‘कामी’ हो भनी औँला ठड्याउने, ‘कामी’बाटै उखान टुक्का बनाएर प्रयोगमा ल्याई सामाजिक अन्तर घुलनमा बाधा पुर्याउने, दलित समुदायका ज्येष्ठ नागरिकहरूलाई जेठो कामी, साइँलो कामी, ठूली कमिनी भनेर होच्याउने चलन कायमै छ। जसले गर्दा जातीय विभेद र छुवाछुतलाई पनि मलजल गरिरहेको  विश्वकर्मा समाजको दाबी छ।

त्यसो त नेपाली बृहत् शब्दकोशको अघिल्लो संस्करणमा ‘कसाई’लाई ‘घाती, निष्ठुर, निर्दयी’का रूपमा अर्थ्याइएपछि उक्त समुदाय अदालतसम्म पुग्यो। कसाई थरको व्याख्या गर्दै शब्दकोशमा लेखिएको थियो- ‘प्रायः मासु र दूधको व्यापार गर्ने नेपाली नेवारको एक वर्ग, खड्गी, बगरे, घाती, निष्ठुर, निर्दयी।’

शब्दकोशमा उल्लिखित अर्थले अपमान भएको भन्दै समुदायका अगुवाहरूले प्रकाशक प्रज्ञा प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरेपछि प्रतिष्ठानले भूल सुधार गरेको थियो। तर, ‘कामी’ शब्दबारे भने प्रतिष्ठान अझै मौन छ।

०००

आजको नेपाली समाजमा कुनै दलितले आफूलाई ‘कामी, दमाई’ भनिदेओस् भन्ने चाहँदैन, किनभने उसले त्यहाँ आफूमाथि विभेद महसुस गर्छ। बरु उसले आफूलाई ‘बाहुन’ भनिदेओस् भन्ने चाहन्छ, किनभने त्यस शब्दमा सम्मान छ।

हाम्रो समाज त्यही हो, जहाँ अहिलेसम्म पनि दलित परिवारमा जन्मिएकी सुन्दर भनिने महिलालाई ‘कस्तो बाहुनीजस्ती राम्री’ भनिन्छ भने तथाकथित बाहुनको परिवारमा जन्मिएको कसैले खराब आचरण देखाउँदा ‘कस्तो कामीजस्तो ब्यहोरा देखाएको?’ भन्ने गरिन्छ। किनभने हाम्रो प्रथम दृष्टिमै जात छ।

पत्रकार तारा लाम्गादेले आफ्नो पुस्तक ‘को हुन् दलित?’ मा लेखेका छन्- पहिला अर्थ लगाइएर प्रयोगमा ल्याइएका शब्दहरू हुन् यी, ताकी विभेद गर्न सकियोस्। त्यसैले यी शब्द आफैँमा विभेदित छन्।

‘यो सुनियोजित छ भन्ने प्रमाणित गर्ने भनेको चन्द्र बाहुनले चन्द्र बाहुन लेख्दैन, अधिकारी, कोइराला, सापकोटा लेख्छ। जात बाहुन भए पनि उनीहरू थर लेख्छन्। किनकी सरकारी डकुमेन्टहरूमा नाम जात भनिँदैन, नाम थर भनिन्छ। नाम थर भनेको चन्द्र विश्वकर्मा हैन, चन्द्र लोहार होला, चन्द्र लाम्गादे होला। अनि हामी थर किन लेख्दैनौँ?’, लाम्गादेको प्रश्न छ।

दुई दशकअघि नै नेपाल सरकारको मन्त्रिपरिषद्ले सबै जिल्ला प्रशासनलाई थर लेख्न पाउने परिपत्र गरिसकेको छ। अहिले त जनगणनामा पनि विश्वकर्मा, परियार इत्यादि लेख्न थालिएको छ। तर, समाज ‘कामी’लाई ‘कामी’ भन्न किन नपाउने भन्नेमै अल्झिरहेको छ।

अन्तिममा, प्रकाश सपूतको गीतमा प्रयोग भएको ‘कामी’ शब्द अपमानित हो कि हैन? त्यो छुट्टाउने जिम्मा पाठकको। त्यसमा पनि प्रकाश सपूतले भनेका कामीहरूको जिम्मा। मेरो व्यक्तिगत बुझाई सोध्ने हो भने यो अपमानित शब्द हो।

नपत्याए, प्रकाश सपूत स्वयंलाई सोध्दा पनि हुन्छ। चाहे ‘गलबन्दी’को विवाद होस् या ‘पिर’ वा ‘सकम्बरी’कै विवाद किन नहोस्। प्रत्येक पटक कामी शब्द प्रयोग गरेर आउने तुच्छ कमेन्टहरू उनी आफैँलाई थाहै छ।

‘गलबन्दी’ विवादमा ‘कामी न हो जात जनाइहाल्यो, गीत चोर’ भन्ने कमेन्ट पनि हामी देखेकै हौँ अनि, ‘पिर’मा ‘तँ कामीलाई आज गीत गाउन सक्ने बनाएको पनि माओवादी जनयुद्धले हो, जनयुद्ध र जनमुक्ति सेनालाई अपमान गर्छस् कामी?’ भनेको पनि हामीले सम्झिराखेकै छौँ। ‘सकम्बरी’को कुरा झन् हिजो अस्तिको हो, सबैलाई थाहा छ।

यी भन्दा पनि गज्जब कुरा चाहिँ, आफूमाथि अरू कसैले कामी भन्दै गर्दा प्रकाश सपूतले चित्त दुखाएको पनि हामीलाई सम्झना छ। अरूले गर्दा बेठीक, आफूले गर्दा ठिक? यो कस्तो समीकरण हो जीवनको!

माघ ३, २०८१ बिहीबार १३:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।