१० रुपैयाँमा हेर्न सकिन्छ हजारौं वर्ष पुरानो नेपाली इतिहास, तर आगन्तुक निकै कम
काठमाडौँ : नेपालको सबैभन्दा जेठो राष्ट्रिय सङ्ग्रहालयमा वर्षौँ पुरानो मानव सभ्यता संग्रहित छ। प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहार समेत समेटिएको सङ्ग्रहालयमा आगन्तुक भने निकै कम छन्।
अन्य देशमा पर्यटकहरूलाई घुमाउँदा सङ्ग्रहालयलाई समेत प्राथमिकता दिने गरिन्छ। तर छाउनी सङ्ग्रहालयको रूपमा परिचित राष्ट्रिय सङ्ग्रहालयमा अध्ययनमा रुचि राख्ने पर्यटक मात्र पुग्छन्।
१९२८ सालमा हतियार सङ्ग्रहालयका रूपमा प्रधानमन्त्री भीमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणले हेर्न पाउँदैनथे।
१९३८ मा डिसेम्बरमा मात्र यो सर्वसाधारणहरूको लागि खुल्ला गरियो। यसलाई पहिला छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामकरण गरियो। सन् १९४२ मा प्रधानमन्त्री जुद्ध शमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निर्माण गरेर त्यसको नाम जुद्ध जातीय कलाशाला राखियो। सन् १९६७ मा आएर यसको नाम नेपाल राष्ट्रिय सङ्ग्रहालय भयो।
सङ्ग्रहालयमा प्राचीन हतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहारसँगै कलाशाला र ऐतिहासिक सङ्ग्रहालय भवन गरेर तीन वटा भवन छन्।
राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठ सङ्ग्रहालय मानवशास्त्र, कलावस्तु, चित्रहरू र पुराना हतियारलाई संरक्षित गरेर राखिएकाले यो अन्य सङ्ग्रहालयभन्दा फरक रहेको बताउँछन्।
‘यहाँ मानवशास्त्र, कलावस्तु, चित्रहरू, पहिलाको समयमा नेपाल कुन अवस्थामा थियो र कस्तो हतियार प्रयोग गर्ने गरेका थिए ती सबैलाई संरक्षित गरेर राखिएको छ,’ उनले भने ‘सङ्ग्रहालयले नेपाली समाज, नेपालीको तत्कालीन समयको अवस्था र विगतदेखि अहिलेसम्मको सभ्यता पनि हेर्न सकिन्छ।’
ढुङ्गे युगमा कस्तो खालको समाज थियो, हतियार कस्तो थियो देखि अहिलेको मानव समाजको विकास कसरी भयो भन्नेसम्म अनुभव गर्न सकिन्छ सङ्ग्रहालयमा।
ढुङ्गे युगमा प्रयोग गरेका विभिन्न ढुङ्गाका हतियारहरू नेपालको विभिन्न ठाउँबाट उत्खनन गरेर यहाँ राखिएको छ। उनले समग्रमा सङ्ग्रहालयको स्तर अलिकति उकास्नु पर्ने बताए।
सङ्ग्रहालयलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्नुपर्ने र प्रदर्शनी कक्ष परम्परागतबाट सुधार गरेर नयाँ प्रविधिहरू राख्नुपर्ने पनि उनको भनाई छ। अहिले सरकारले विनियोजन गरेको बजेट अपुग रहेको उनले बताए।
‘अहिले सङ्ग्रहालयको अवस्था राम्रो नै छ। तर यसलाई अझ राम्रो बनाउन यसलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्नुपर्छ। प्रदर्शनी कक्ष परम्परागत खालको छ। सङ्ग्रहालयमा नयाँ प्रविधिहरू राख्नु पर्नेछ,’ उनले भने ‘समग्रमा सङ्ग्रहालयको स्तर अलिकति उकास्नु पर्नेछ। बजेटको लागि पुरातत्त्व विभागमार्फत संस्कृति मन्त्रालयमा योजनासहित जानकारी गराएका छौ। अहिले राखेको बजेट अलिकति अपुगजस्तै छ।’
उनले सङ्ग्रहालय र आगन्तुकहरूसँग टिकटको रकम राजश्व उठाउने भन्दा पनि नेपाली सभ्यतालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयासको रहेको बताए।
टिकटको शुल्क निकै कम छ। विद्यार्थीका लागि १०, नेपालीहरूको लागि २५ र विदेशीहरूको लागि सय रुपैयाँमा सङ्ग्रहालयमा जान सकिन्छ।
सङ्ग्रहालयमा रहेका अमूल्य सामग्रीको तुलनामा आगन्तुकहरू भने निकै कम देखिन्छ। गत वर्ष ७० हजार आगन्तुक आएका थिए। यो वर्ष एक लाख आगन्तुक पुर्याउने सङ्ग्रहालयको लक्ष्य देखिन्छ।
सङ्ग्रहालयमा एक दिनमा बढीमा २५ सय र कम्तीमा तीन- चार सय व्यक्ति आउने गरेका छन्। नेपालीको हकमा धेरै विद्यार्थी देखिन्छन्। विदेशीको हकमा धेरै चिनियाँ पर्यटकहरू छन्।
-सविता नयाँजू/नेपाल न्युज बैंक
माघ ३, २०८१ बिहीबार १२:३३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।