‘चैते काफल’ पुसमै पाकेपछि दाङका स्थानीय अचम्मित
तुलसीपुर : चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ। विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुस-माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा चैते काफल चैतभन्दा अघि वा पछि मात्र पाक्न थालेपछि यहाँका स्थानीय अचम्मित भएका छन्।
‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ। यस्तो कहिल्यै हुन्थेन। यो के अचम्म भएको हो?’, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने।
केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेकोमा यस वर्ष भने पुसको तेस्रो हप्तादेखि नै काफल चाख्न पाएको पुनले बताए।
जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए।
उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ।
‘यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन,’ उनले भने, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन्।’
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ।
बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ-आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनले बताए।
माघ ३, २०८१ बिहीबार ०७:५२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।