उकेरा टप फाइभ : काठमाडौं महानगरले विद्यालयबाट व्यापार हटाउन थालेकोदेखि ब्याच नम्बर ६९ सम्म
काठमाडौं : प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आव्हानको माग गरेको हो। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वेच्छाचारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरू एकै ठाउँमा रहेको बताए।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन्। बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। एसपी अधिकारीका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर उनी थुनामुक्त भए। त्यसअघि पुस २५ मा कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए। समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन्।
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका छविलाल जोशी एक सातादेखि फरार भएका छन्। गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने थियो।
दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन्। युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
यो २०७१ सालतिरको अनुसन्धान हो। म केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख थिएँ। एक दिन तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले आफ्नो कार्यालयमा भेट्न बोलाए। म सरासर सिंहदरबारमा गएँ। ‘हेमन्त सर यो अलि गम्भीर प्रकृतिकै अपराध लाग्यो मलाई। अनुसन्धान गर्नुपर्यो।’ उनले जुन अपराधको अनुसन्धान गर्न आग्रह गरे त्यसबारे ब्यूरोले एक महिना अगाडिबाटै अनुसन्धान सुरु गरिसकेको थियो। उनले आग्रह गरेको तीन-चार दिनपछि त एक कोरियन पुरुष र एक नेपाली युवती पक्राउ नै परे।
पूरा समाचार: ब्याच नम्बर ६९ : चुनदेवीको घरमा छापा मारेपछि खुलेको चिनियाको गम्भीर अपराध
विद्यालयको संरचना ढाकिने गरी बनाइएको सटर तथा व्यावसायिक संरचना भत्काइएपछि काठमाडौंका अधिकांश सामुदायिक विद्यालय सडकबाटै छर्लङ्ग देखिन थालेका छन्। यसअघि भाडामा लगाइएका व्यावसायिक संरचनाका कारण नदेखिएका सामुदायिक विद्यालयहरू अहिले भने सडकबाटै देखिन थाले। पशुपति मित्र माध्यमिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय र धुम्रबराह माध्यमिक विद्यालयको अगाडि रहेका व्यावसायिक संरचना भत्काइएका छन्।
पूरा समाचार: व्यापार हटाएर विद्या फर्काउँदै महानगर, सटरको आडमा लुकेका विद्यालय अब छर्लङ्ग
अपराधमा अदालतबाट सजाय पाए पनि कुनै अपराधमा संलग्न नभएको भन्दै निर्वाचन आयोगलाई गुमराहमा राखेर कैलाली–२ बाट सांसद निर्वाचित भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसदको योग्यता सम्बन्धी प्रश्न उठाएर दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार रिट खारेज हुने फैसला गरेको हो।
पूरा समाचार: उम्मेदवार बन्दा ढाँटेको विवरण ‘सदर’, सांसद चौधरीको रिट खारेज
सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ। अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण र स्थानीय तहमा नेतृत्व पद रिक्त भएमा अस्थायी व्यवस्थाको प्रावधानलगायत समावेश गरेर कानुन ल्याइएको बताए। अध्यादेशमार्फत ल्याइएको नयाँ व्यवस्था अरू कस्ता छन्?
पूरा समाचार: कस्ता छन् सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ व्यवस्था ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन्। सभापति रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन्। बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा तथा रवि समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए।
पूरा समाचार: सहकारी पीडितका वकिलमाथि रास्वपा कार्यकर्ताले गरे हातपात, मनिष झा भन्छन् 'त्यसो रहेछ भने कारबाही गर्छौं'
माघ २, २०८१ बुधबार २१:४१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।