उम्मेदवार बन्दा ढाँटेको विवरण ‘सदर’, सांसद चौधरीको रिट खारेज
काठमाडौँ : अपराधमा अदालतबाट सजाय पाए पनि कुनै अपराधमा संलग्न नभएको भन्दै निर्वाचन आयोगलाई गुमराहमा राखेर कैलाली–२ बाट सांसद निर्वाचित भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसदको योग्यता सम्बन्धी प्रश्न उठाएर दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार रिट खारेज हुने फैसला गरेको हो।
चौधरी प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएपछि उकेराले उनी अर्काको सम्पत्ति आगजनीमा अदालतबाट कैद सजाय तोकिएका फरार दोषी रहेको समाचार प्रकाशित गरेपछि उनी पक्राउ परेर जेल चलान भएका थिए। पछि राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय मिनाहा गराएर उनलाई कारागारबाट निकालेका थिए।
चौधरीले प्रतिनिधिसभा सदस्य बन्न उम्मेदवारी दर्ताको समयमा कुनै अपराधमा दण्ड-सजाय नपाएको भनेर ढाँटेकाले उनी सांसद निर्वाचित भए पनि उम्मेदवार बन्न योग्य नभएको दाबी गर्दै अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए।
सर्वोच्चको संक्षिप्त आदेशमा मनोनयन पत्रमा कसैले ढाँटेको अवस्थामा सम्बन्धित निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा कानुनी उपचारमा जानुपर्नेमा वैकल्पिक कानुनी बाटो अवलम्बन नगरेको भन्दै रिट खारेजको फैसला गरेको देखिन्छ।
के हो घटना ?
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा अरुणकुमार चौधरी निर्वाचित भए। उनी अर्काको ट्याक्टर आगजनीको अभियोगमा ६ महिना कैद तोकिएको र सो सजाय भुक्तान नगरेका फरार रहेको प्रमाण उकेराले फेला पारेपछि २०७९ माघ १६ मा समाचार प्रकाशित गरेको थियो।
जिल्ला अदालत कैलालीले अरुणकुमारसहित उनको दाई पर्शुराम अनि वीरबहादुर चौधरीले महादेव बजगाईँको ट्याक्टर जलाएकोमा ६ महिना कैद र ८ लाख १९ हजार दामासाहीले असुल्ने फैसला भएको थियो।
अदालतले २०७० वैशाख ९ मा २०६९ भदौ ३ गते साँझ ६ : ४५ बजे चिसापानीबाट लम्कीतर्फ आएको लु. २ त. २११ नम्बरको ट्याक्टरलाई अरुणसहितले रोकी चालकलाई कुटपिट गरेर ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाएको देखिएको ठहर गरेको थियो।
अरुणसहित तीनै जना दोषी ठहर भए पनि पछि कोही पक्राउ परेनन्। अरुण मङ्सिर ४ को निर्वाचनमा कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार बनेर विजयी भए। उम्मेदवारी दर्तादेखि विजयी प्रमाणपत्र लिनसम्म उनी आफैँ सहभागी थिए। तर पक्राउ परेनन्।
उकेराले उनी अदालतबाट कैद सजाय तोकिएका फरार रहेको प्रमाणसहित समाचार प्रकाशित गरेपछि समाचार प्रकाशित भएको तेस्रो दिन माघ १९ मा पक्राउ परेर कारागार चलान भएका थिए।
प्रजातन्त्र दिवसको मौका पारेर सरकारको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले उनको बाँकी कैद मिनाहाको निर्णय गरेपछि उनी जेल परेको १७ दिनमै कारागारमुक्त भए। कारागारमुक्त भएसँगै फागुन १० मा निलम्बनमा रहेको उनको सांसद पद फुकुवा भयो।
सम्बन्धित समाचार
माघ २, २०८१ बुधबार २०:०९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।