ब्याच नम्बर ६९ : चुनदेवीको घरमा छापा मारेपछि खुलेको चिनियाको गम्भीर अपराध

ब्याच नम्बर ६९ : चुनदेवीको घरमा छापा मारेपछि खुलेको चिनियाको गम्भीर अपराध

यो २०७१ सालतिरको अनुसन्धान हो। म केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख थिएँ। एक दिन तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले आफ्नो कार्यालयमा भेट्न बोलाए। म सरासर सिंहदरबारमा गएँ।

‘हेमन्त सर यो अलि गम्भीर प्रकृतिकै अपराध लाग्यो मलाई। अनुसन्धान गर्नुपर्यो।’

उनले जुन अपराधको अनुसन्धान गर्न आग्रह गरे त्यसबारे ब्यूरोले एक महिना अगाडिबाटै अनुसन्धान सुरु गरिसकेको थियो। उनले आग्रह गरेको तीन-चार दिनपछि त एक कोरियन पुरुष र एक नेपाली युवती पक्राउ नै परे।

OOO

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक दिन बोलाएर भने ‘विवाह गर्ने भनेर नेपाली केटीहरूलाई झुक्क्याएर चीन लैजाने समूह सक्रिय रहेछन्। यसबारे अनुसन्धान गर्नुपर्यो।’

सूचनासँगै हेडक्वार्टरमा अनुसन्धानका लागि चाहिने केही क्लुहरू पनि रहेछ। ती जानकारी लिएर म सीआइबी फर्किएँ।

सीआइबीले यस अगाडि अफ्रिकी मुलुक लगायतका डान्सबारमा नेपाली युवतीहरूलाई लगेर अवैध काममा लगाउने समूहबारे अनुसन्धान गरेर समूहलाई नै पक्राउ गरिसकेको थियो। त्यसको अनुसन्धानले केही आइडियाहरू आइसकेको थियो।

अफ्रिकी मुलुकमा भएको नेपाली युवतीको तस्करीको अनुसन्धान तत्कालीन एसपी किरण बज्राचार्यको टिमले गरेको थियो। चिनियाँको अपराधको जालोबारे पनि किरणको टिमले नै अनुसन्धान गरिरहेको थियो। त्यसले चीनमा विवाहको नाममा भइरहेको नेपाली युवतीहरूको तस्करीको अनुसन्धानमा सहयोगै भयो।

चीनमा विवाह गर्न चाहने पुरुषहरूले महिला नपाउने समस्या अहिले पनि देखिन्छ। त्यो बेलामा पनि यो समस्या निकै जटिल थियो। उनीहरूलाई लेफ्ट ओभर भनेर चिनिन्छन् अहिले पनि। यो लेफ्ट ओभर भनेको चैं ३० या ४० वर्ष पार गरिसकेको अविवाहित।

उमेर बढी भएकाले विवाह गर्न केटी या केटा नै नपाउने, अझ विशेष केटाको सङ्ख्याभन्दा केटीको सङ्ख्या निकै कम भएकाले विवाह गर्न केटी नै नपाउने समस्या पनि। केटीहरू करिअर केन्द्रित हुँदा सकेसम्म विवाह नै गर्न नखोज्ने यदि विवाह गरे पनि बच्चा जन्माउन नचाहने कारण पनि अविवाहित पुरुषको सङ्ख्या निकै बढिरहेको देखिन्छ।

विवाह गर्न चीनमा महिलाहरू नभेटिएपछि चिनिया पुरुषहरू छिमेकी देशहरूतिर लागे। उनीहरू विशेष म्यानमार, पाकिस्तान, भारततिर,भियतनामतिर समेत पुग्ने गरेको देखिन्छ। चीनका मुस्लिमले पाकिस्तानका मुस्लिम युवतीहरूसँग यसरी नै विवाह गर्ने घटनाहरू बढेका छन्। सहजै युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गराउन सकिने देश खोज्दै दलालहरू नेपालसम्म आइपुगे। अनि यतै धन्दा सुरु गरे।

चुनदेवीका एक घरमा एक कोरियन पुरुष र नेपाली महिला बस्ने गरेका थिए। ती कोरियन अधबैँसे नेपाली महिलासँग विवाह गरेर नेपालमा बसिरहेका थिए। तर उनको धन्दा चैं चिनिया नागरिकहरूलाई विवाहका लागि नेपाली युवतीहरू खोजिदिने।

यो घटनाको अनुसन्धानको क्लु यती नै थियो। अब सूचना मात्र भएर त भएन। प्रमाण पनि हुनुपर्यो। त्यसपछि चुनदेवीमा रहेको घरमा निगरानी राख्ने, शङ्कास्पद ओहोरदोहोर हेर्ने, त्यसमा संलग्न भनिएका चिनिया र नेपाली महिलाको सम्पर्क र उनीहरूको दैनिकी पच्छ्याउन सुरु गरियो।

विवाह गरेर चिन लैजाने प्रलोभनमा परेका केही नेपाली युवती त फेला परे। तर विवाह गरेर चीन पुगेर नेपाल फर्किएका युवतीहरू भेट्न सके सबैभन्दा बलियो प्रमाण हुन सक्थ्यो। केही नेपाली युवतीहरू दुख पाएर नेपाल फर्किएका छन् भन्ने सूचना आए पनि भेटिएका थिएनन्।

सबैभन्दा पहिला त उनीहरूले कसरी नेपाली युवतीहरूलाई फकाउँछन् र फन्दामा पार्छन् भनेर प्रमाण सङ्कलन गर्नुपर्यो। अनुसन्धानकाक्रममा उनीहरूले नेपालमा कानुनी रूपमै अदालतमा विवाह दर्ता गरेर चिन जाने गरेको देखियो।

उनीहरूले पहिला वैदेशिक रोजगारीमा जुन देश पाए पनि जाने प्रयासमा रहेका युवतीहरू पहिचान गर्ने रहेछन्। त्यसपछि चीनमा राम्रो रोजगारको मौका भएको तर वैदेशिक रोजगारमा चिन जान भिसा नपाउने भएकाले विवाह गरेर जानुपर्ने भनेर फकाउने रहेछन्।

यता नेपालमा कानुनी रूपमै विवाह गरे पनि त्यो नक्कली विवाह हुने, महिनाको एक लाख रूपैयाँसम्म कमाइ हुने, विवाह गरेर चिन गए पनि श्रीमानसँग बस्नु नपर्ने, सहजै पिआर पाइने अनि चिन गएको एक वर्षमा नेपालमा रहेका परिवारका अन्य सदस्यलाई पनि बोलाउन पाइने भनेर लोभ्याउने रहेछन्।

यति भनेपछि पुरुष कस्तो हो, कुन उमेरको हो केही नहेरी नेपाली युवतीहरू विवाह गरेर चिन जान राजी भइहाल्ने। जब उनीहरू विवाह गरेर चिन जान्छन् अनि मात्र वास्तविकता खुल्ने। प्राय चीनको दुर्गम भेगमा गएर बस्नुपर्ने, अब भाषाको समस्याले कोही कसैसँग संवाद गर्न नसक्ने। कहाँ आयो कहाँ आयो हुने। कतिले बुढा बा-आमाको स्याहार गर्न, खेतिपाती गर्ने काममा लगाउने रहेछन्।

यता नेपाली युवतीहरूलाई विवाह नक्कली हो भने पनि उता चिन पुगेपछि भने चिनिया केटासँग बस्नै पर्ने, तलाईं किनेर ल्याएको हो, मेरो लागि बच्चा पाउनुपर्छ भन्दै शारीरिक अनि मानसिक यातना दिने घटना बढेपछि मात्र नेपाली युवतीहरूले सहजै भिसा लाग्ने प्रलोभनमा पारेर चिनियाँलाई बेचेको थाहा पाउँथे। केही बाठाहरू भागेर नेपाल पनि आएका थिए। केही भने उतै फसेका थिए।

आर्थिक कारोबारबारे अनुसन्धान गर्दा विवाह गर्न चाहने चीनका पुरुषले २० लाख रूपैयाँसम्म तिर्ने गरेको देखियो। कति युवतीहरूसँग पनि दलालले पैसा असुल्ने रहेछन्।

चीनमा रहेको नेपाली दूतावासमार्फत पनि अनुसन्धानमा केही सूचना आयो। करिब एक महिनाको अनुसन्धानमा अपराध पुष्टि हुनसक्ने तहको प्रमाणहरू सङ्कलन भएपछि चुनदेवीको घरमा छापा मारेर नेपाली युवती र चिनिया नागरिकलाई पक्राउ गर्यौं। घरमा म्यारिज ब्यूरोको नाममा भएका गतिविधि सम्बन्धी प्रमाणहरू फेला पर्यो।

अनुसन्धान अगाडि बढ्दै जाँदा विवाहको प्रलोभनमा चिन पुगेर दुख पाएपछि नेपाल फर्किएका केही युवतीहरू पनि सिआइबीको सम्पर्कमा आए। अनुसन्धान सफल भयो। लिलामणीजीले बोलाएर खुसी व्यक्त गर्दै सिआइबीको टिमलाई नै धन्यवाद दिए।

नेपाली युवतीहरूलाई विवाहको प्रलोभनमा चीनमा भइरहेको मानव तस्करीको घटना सार्वजनिक भएको यो नै पहिलो थियो। तर त्यसपछि पनि यस्तो अपराधको क्रम भने रोकिएन। एकपछि अर्को दलालहरू नेपालमा सक्रिय भइरहे। विदेश जान पाइन्छ भनेपछि कतै जोखिम पो हुन्छ कि भन्ने नसोची सहजै तयार हुने युवतीहरूलाई फन्दामा पार्न नेपालीहरू पनि सक्रिय भए।

त्यो घटना सार्वजनिक भएको पाँच वर्षपछि २०७६ मै मानव बेचबिखन ब्यूरोले यस्तै अपराधमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका थिए। त्यसमा ६ जना नेपाली थिए, चार जना चिनिया थिए।

अहिले पनि टिकटकतिर चिनिया पुरुषहरूसँग नेपाली युवतीले विवाह गरेको भिडियोहरू देख्छु। सबै विवाहमाथि शङ्का गर्नु जायज नहोला, केहीको मन मिलेर, दुवैले एक अर्कालाई बुझेर विवाह गरेको हुन पनि सक्छ। तर विदेश जान पाउने भएपछि तयार भइहाल्ने मनस्थिति अझै उस्तै भएकाले कतै अहिले पनि यो धन्दा उसरी नै चलिरहेको छ कि? शङ्कै लाग्छ।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

माघ २, २०८१ बुधबार १९:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।