निकट समयमै समाजवादी मोर्चामा भएका चार वटै पार्टीबीच एकता गर्न नेताहरू सहमत
काठमाडौं : समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।
उनले भने, ‘निर्णय तीन वटा छन्। आजको बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ। आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छौं। अब त्यो कार्यक्रम सम्पन्न भयो भने जति प्रश्न छन्, कार्यक्रमले उत्तर दिने छ।’
उनले आजको बैठकमा मोर्चाबाट भएका विगतको अभ्यास, गतिविधिबारे गम्भीर समीक्षा गरी वामपन्थी शक्तिबीच एकता, सहकार्य र ध्रुवीकरण गर्ने विषयमा साझा धारणा बनेको बताए।
बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ।
समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले बताए।
‘वामपन्थीबीच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबै एकमत छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ। समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने आजको आवश्यकता छ। यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक छौँ। प्रचण्डजी, माधवजी र विप्लवजीको पनि ढिलोचाँडो वामपन्थी शक्ति निर्माण गर्नेमा विमति छैन’, यादवले भने।
माघ २, २०८१ बुधबार १८:४५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।