सहकारी पीडितका वकिलमाथि रास्वपा कार्यकर्ताले गरे हातपात, मनिष झा भन्छन् 'त्यसो रहेछ भने कारबाही गर्छौं'
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन्।
सभापति रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन्।
बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा तथा रवि समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए। त्यसपछि उनलाई सुरक्षाकर्मीले सुरक्षा दिएका थिए।
उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए।
यसैबीच अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेहरू आफ्नो पार्टीका सदस्य भए कारबाही गर्ने रास्वपाले जनाएको छ।
त्रिपाठी माथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ उनले भने।
माघ २, २०८१ बुधबार १७:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।