कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए, शीर्ष नेताहरू पनि सहभागी हुने
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसहित पार्टीबाट मन्त्री बनेकाहरूलाई छलफलका लागि बोलाएका छन्। उनले बिहीबार बिहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा उनीहरुलाई बोलाएको सचिवालयले जनाएको छ।
कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन्।
केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट मन्त्री हुनेहरूमा उपप्रधान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन्।
त्यसैगरी रुपा विकले वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारीमा छन्।
बैठकमा संसदीय दलको कार्यसमितिका नेता देउवा, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ पनि उपस्थित हुने कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले बताए।
सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेको बताइन्छ।
सरकारको कामबारे नेता डा शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सांसद अर्जुननरसिंह केसी लगायतका नेताहरूले सार्वजनिक रूपमा विरोध गरिरहेका छन्।
माघ २, २०८१ बुधबार १६:३७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।