पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै मिर्चैयाका व्यापारीले गरे चक्काजाम
सिरहा : सिरहाको मिर्चैया बजारका व्यापारीहरूले आज पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन्।
स्थानीय व्यापारीहरूले राजमार्गमा तगारो राखेर आवागमन ठप्प पारेका हुन्। बिहानैदेखि मिर्चैयामा सवारी साधनहरूको लामो लर्को रोकिएको छ। यात्रुहरू कठिनाइमा परेका छन्।
चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ताको भनाइ छ।
स्थानीय व्यापारी रामप्रसाद साहले पटक-पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको बताए।
बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ। व्यापारीहरू सडककै दुर्गतिका कारण पलायन भइरहेका छन्। व्यापार चौपट भएको उनीहरुको गुनासो छ। धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ। तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन।
पूर्व-पश्चिम राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन। अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको बताइएको छ।
माघ २, २०८१ बुधबार १६:२०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।