प्रहरीले किन पक्राउ गर्यो आशिका तामाङलाई?
काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन्।
बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
एसपी अधिकारीका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो।
गत पुस २५ को प्रहरी प्रतिवेदन र पुस २६ को पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ मा अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो।
अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
त्यसअघि पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उनीविरुद्ध प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ।
माघ २, २०८१ बुधबार १५:४८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।