सरकारविरूद्ध ६ दल एकै ठाउँ उभिए, तत्काल संसद् अधिवेशन बोलाउनुपर्ने माग
काठमाडौं : प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आव्हानको माग गरेको हो।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरूको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौं। यसमा हाम्रो समझदारी बनेको छ।’
उनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वेच्छाचारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरू एकै ठाउँमा रहेको बताए।
उनले भने, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वेच्छाचारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ, त्यसमा हामी ६ दलहरू एकै ठाउँमा छौं। संसदलाई छल्न खोजेको छ। सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ।’
संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन बाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सङ्ख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ। विशेष अधिवेशन आव्हानको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टीका नेता महेन्द्र नारायण यादव, आम जनता पार्टीलगायत पार्टीका नेताहरू सहभागी थिए।
माघ २, २०८१ बुधबार १५:२८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।