महिला प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित, गण्डकी आठ विकेटले पराजित
काठमाडौं : प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले गण्डकी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।
जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो। एपीएफमा क्लबलाई राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले नेतृत्व गरिरहेकी छन्।
धनगढीको फाप्ला क्रिकेट मैदानमा मौसमका कारण १५ ओभरमा झारिएको खेलको टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ७० रन जोड्यो।
उसका लागि कप्तान सिर्जना पौडेलले २५ रन बनाउँदा रेखा तामाङ १७ र श्रेया शाहीले १३ रन जोडे। बलिङमा एपीएफका बिनु बुढा दुई र करुणा भण्डारीले एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि कप्तान इन्दु बर्माले २६ रनको अविजित पारी खेलिन्। ममत चौधरीले १८ र राजमती ऐरी ८ रन बनाएर आउट हुँदा रोमा थापाले अविजित १४ रन बनाइन्।
गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान एक–एक विकेट लिए।
प्रतियोगितामा अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल जारी छ।
माघ २, २०८१ बुधबार १४:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।