दक्षिण कोरियाका राष्ट्रपति पक्राउ, भिडियो सन्देशमा भने- ‘म विरुद्धको अनुसन्धान अवैध छ, रक्तपात रोक्न गिरफ्तारी दिएँ’
एजेन्सी : दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन्।
युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए।
स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधनको ठूलो र्याली निस्किएको जानकारी दिएका छन्।
दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओका अनुसार बिहान ७:२३ मा युनविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
पक्राउ परेलगत्तै राष्ट्रपति यून सुक-योलले एक भिडियो सन्देश जारी गर्दै आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताए।
उनले आफ्नो सन्देशमा भनेका छन्, ‘अवैध अनुसन्धान भए पनि मैले सीआईओ समक्ष उपस्थित हुने निर्णय गरेको छु। रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु।’
युनले तीन मिनेटको छोटो भिडियो सन्देशमा भने, ‘यद्यपि यसको मतलब यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु। अदालत र अनुसन्धान एजेन्सीलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार छैन।’
माघ २, २०८१ बुधबार ०८:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।