जय ट्रफीमा आज पुलिसले ब्याटिङ जारी राख्ने

जय ट्रफीमा आज पुलिसले ब्याटिङ जारी राख्ने

काठमाडौं : जय ट्रफी एलिट कपको फाइनलको आज दोस्रो दिन, नेपाल पुलिस क्लबले आफ्नो ब्याटिङ जारी राख्नेछ।

मंगलबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा १७ ओभरको मात्रै खेल भयो। हुस्सु र कुहिरोका कारण खेल ढिला सुरु भएको थियो।

आज पनि हुस्सु र कुहिरो लाग्ने भएकाले खेल ढिला नै सुरु हुने अनुमान छ। खासमा खेल साढे नौ बजेबाट सुरु भइसक्नुपर्ने हुन्छ।

मंगलबार त्रिभुवन आर्मी क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पुलिस ब्याटिङमा तानिएको थियो।

पुलिसका लागि दिलिप नाथ इनिङ्सको पहिलो बलमै आउट भए। उनलाई सोमपाल कामीले सुमित श्रेष्ठको हातबाट क्याचआउट गराए।

त्यसपछि आएका अमित श्रेष्ठले पारीलाई केही हदसम्म जोगाए पनि उनी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। ३९ बल खेलेर २० रन बनाएका उनलाई साहब आलमले आकाश चन्दको हातबाट क्याचआउट गराए।

यद्यपि खेलमा ओपनर कुशल भुर्तेल अझै टिकिरिहेका छन्। उनी ५१ बलमा आफ्नो अर्धशतक बनाएर खेलिरहेका छन्। उनलाई साथ दिन अर्को इन्डमा अर्जुन साउद आएका छन्।

जय ट्रफी एलिट कपका लिग चरणका खेल दुई दिनको भए पनि फाइनल भने तीन दिनको हुनेछ। कप विजेताको टुंगो भोलि लाग्नेछ।

माघ २, २०८१ बुधबार ०७:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।