उकेरा टप फाइभ : सशस्त्र प्रहरी अस्पतालको खरिदमा मिलेमतोदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापासँगको कुराकानीसम्म

उकेरा टप फाइभ : सशस्त्र प्रहरी अस्पतालको खरिदमा मिलेमतोदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापासँगको कुराकानीसम्म

काठमाडौं : आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाएका छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ लाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघीको अवसरमा आज सार्वजनिक विदासमेत भएको थियो। 

आजदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। 

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। थारू समुदायले आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाए। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारमा सहभागी र विशिष्ट पाहुनालाई बोलाएर शितल निवासमा माघे संक्रान्ति मनाए। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, पूर्व राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी, सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए।

महिला प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ। नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो। खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन्। मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्याए।‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ। ढली नै हाल्छ। हामीले धेरै बलै गर्नुपर्दैन। यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ प्रचण्डले भने।

कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले बताएका छन्। मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरू हुने बताएको थियो। वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान-प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए।

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५ वर्षे कार्यकाल बिताए। उनको पालामा वित्तीय क्षेत्रमा विद्युतीय भुक्तानी गर्ने प्रणाली बस्यो। कोभिडपछि सहुलियत ऋण लामो समयसम्म प्रवाह गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्यो, जसलाई नियन्त्रण गर्न सरकारले  वस्तु आयातमा नै रोक लगाउनु पर्यो।  उनको कार्यकालमा जुनसुकै राम्रा अथवा नराम्रो  निर्णय भए पनि अर्थतन्त्रमा त्यसको दीर्घकालीन असर पर्छ नै। उनकै कार्यकालमा नेपाल ग्रे लिस्टमा पर्ने जोखिम बढी रहेको छ। ५ वर्ष राष्ट्र बैंकले लिएको बाटो र गभर्नर अधिकारीको उपलब्धिबारे राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी। 
पूरा समाचार: ‘नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना अधिक छ, यो भयो भने गभर्नर अधिकारीका लागि खल्लो हुनेछ’

मुगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पद्मकन्या चौलागाइको १२ वर्षकै उमेरमा विवाह भयो तीर्थराज चौलागाइसँग। ६ वर्ष अघि श्रीमानले गाउँकै एक महिलासँग दोस्रो विवाह गरेर गाउँ छोडे। कक्षा ३ र २ मा पढ्ने दुई सन्तानको पालनपोषण गर्न उनी सहेर गाउँमै बसिन्। तर श्रीमानले पनि छाडेको भन्दै उनलाई सासू-ससुराले घरमा टिक्न दिएनन्। श्रीमानले फोन गरेर घर छाड्न धम्की दिए। अनि २०८० साउन २९ मा उनी घर छाड्न बाध्य भइन्। कहाँ जाने?
पूरा समाचार: श्रीमानको तिरस्कारपछि स्थानीयले कर्णाली नदीमा हेलिनबाट जोगाएकी पद्मकन्याले रोजिन् न्यायको बाटो

सशस्त्र प्रहरी बल अन्तर्गतको सशस्त्र प्रहरी अस्पतालले निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी साढे १९ लाखको खरिद प्रक्रिया अगाडि बढाएको विषयमा सशस्त्र प्रधान कार्यालयको भूमिका समेत शङ्कास्पद देखिएको छ। उकेराले टेन्डर निश्चित कम्पनीलाई दिन खरिदको स्पेसिफिकेसन मापदण्डहरू कसरी लक्ड गरिएको छ भन्ने प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। प्रहरी अस्पताल सशस्त्र प्रहरी बल अन्तर्गतको हो। अस्पतालको टेन्डरमा भएको मिलेमतोबारे जिज्ञासा राख्दा सशस्त्रका केन्द्रीय प्रवक्ता डीआइजी  कुमार न्यौपानेले यसबारे छानबिनै गर्न नसकिने तर्क गरे।
पूरा समाचार: सशस्त्र प्रहरी अस्पतालको खरिद मिलेमतोमा केन्द्रको भूमिका शंकास्पद, प्रवक्ता भन्छन् ‘छानबिन गर्न सकिँदैन’

भदौमा अभिनेत्री स्वस्तिमा खड्कालाई अनुबन्ध गर्दै फिल्म कङ्गारु टिमले यो क्राइम सस्पेन्स जनराको फिल्म भएको जानकारी दियो। फिल्मको निर्देशक सम्राट् बस्नेत थिए। कलाकारमा स्वस्तिमासँगै अर्पण थापा, जितु नेपाल अनि केदार घिमिरे अनुबन्ध भएको सार्वजनिक गरियो। फिल्मको प्रस्तुतकर्ताका रूपमा गुन्डा नाइके दीपक मनाङे देखिएका थिए भने निर्माण कम्पनी फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्म प्रोडक्सन प्रालि। क्राइम थ्रिलर जनरामा फिल्म बनाउन तातिएको दुई कम्पनीमध्ये एक उत्तरगयाका दुई सञ्चालक अहिले फिल्मको कथामा हैन वास्तविक आपराधिक घटनामा जोडिए।
पूरा समाचार: क्राइम थ्रिलर फिल्म कङ्गारु टिम सदस्य व्यवसायी हत्या प्रयासको मुख्य योजनाकार, सम्बन्ध विच्छेद गराएको दुस्मनीमा हमला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीको संयोजकत्वमा गठन भएको १३ सदस्यीय समितिले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिई अध्ययन र आवास निःशुल्क गर्न सुझाव दिएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सोमबार बुझाइएको प्रतिवेदनमा आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिने सुझाव दिइएको हो। २०८० असोज १३ मा उपप्रधान तथा गृह मन्त्रीको उपस्थितिमा ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’बीच ६ बुँदे सहमति भएको थियो।
पूरा समाचार: आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिई अध्ययन र आवास निःशुल्क दिनुपर्ने अध्ययन समितिको सुझाव

माघ १, २०८१ मंगलबार २१:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।