नुवाकोटमा गोरू जुधाएर मनाइयो माघे सङ्क्रान्ति
त्रिशूली : माघे सङ्क्रान्तिको अवसरमा आज नुवाकोटको तारूका, बेत्रावतीलगायतका स्थानमा गोरू जुधाई प्रदर्शनी आयोजना गरिएको छ।
माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरू जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो।
तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा आयोजित गोरू जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे। यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरू जुधाइएको हो।
गोरू जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरू जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए।
गोरू जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
जुधाईमा संलग्न भएका गोरूको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरूका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरू जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए।
यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरू जुधाइएको छ। गोरू जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरू जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका-५ दुईपिपल, लिखु गाउँपालिका-३ सूर्यमती, पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमासमेत गोरू जुधाई प्रदर्शनी गरेर किसानले माघे सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन्।
गोरू जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ।
माघ १, २०८१ मंगलबार २०:२०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।