सशस्त्र प्रहरी अस्पतालको खरिद मिलेमतोमा केन्द्रको भूमिका शंकास्पद, प्रवक्ता भन्छन् ‘छानबिन गर्न सकिँदैन’

सशस्त्र प्रहरी अस्पतालको खरिद मिलेमतोमा केन्द्रको भूमिका शंकास्पद, प्रवक्ता भन्छन् ‘छानबिन गर्न सकिँदैन’

काठमाडौँ : सशस्त्र प्रहरी बल अन्तर्गतको सशस्त्र प्रहरी अस्पतालले निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी साढे १९ लाखको खरिद प्रक्रिया अगाडि बढाएको विषयमा सशस्त्र प्रधान कार्यालयको भूमिका समेत शङ्कास्पद देखिएको छ।

उकेराले टेन्डर निश्चित कम्पनीलाई दिन खरिदको स्पेसिफिकेसन मापदण्डहरू कसरी लक्ड गरिएको छ भन्ने प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

प्रहरी अस्पताल सशस्त्र प्रहरी बल अन्तर्गतको हो। अस्पतालको टेन्डरमा भएको मिलेमतोबारे जिज्ञासा राख्दा सशस्त्रका केन्द्रीय प्रवक्ता डीआइजी  कुमार न्यौपानेले यसबारे छानबिनै गर्न नसकिने तर्क गरे।

यो टेन्डरमा कोरियन कम्पनी आइडीएसको ‘स्म्याक्सेल’ मोडलको स्पेसिफिकेसनको क्याटलगसँग मिल्ने गरी स्पेसिफिकेसन बनाएकाले उसैको नेपाली एजेन्टले पाउने करिब निश्चित देखिन्छ। सशस्त्र प्रहरी प्रवक्ताले भने यसरी मिलेमतोमा भएको टेन्डरको विषय छानबिनको दायरामा ल्याउनै नचाहेको देखियो।

स्किन–सिओटु लेजर’को टेन्डरको प्राविधिक स्पेसिफिकेसन स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखामा लामो समय करारमा काम गरेकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्राले बनाएकी थिइन्।

सशस्त्रका प्रवक्ता न्यौपानेले अर्को सरकारी निकायबाट आएको बायोमेडिकल इन्जिनियरले स्पेसिफिकेसन बनाएकाले त्यसबारे अर्को सरकारी निकाय (सशस्त्र प्रहरी बल ) ले छानबिन गर्न नमिल्ने हास्यास्पद तर्क गरे।

विभागमा हुँदा मिश्राले निश्चित उत्पादक कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर पारिदिने भूमिका खेल्दै आएकी थिइन्। सशस्त्रमा पनि त्यही देखियो। तर खरिद प्रक्रियामा बायोमेडिकल इन्जिनियरको सहयोगी भूमिका मात्रै हो। मुख्य भूमिका त खरिद प्रमुख र अस्पताल प्रमुखकै रहन्छ। यी दुवै सशस्त्र प्रहरीकै हुन्।

विभागले पठाएको बायोमेडिकल इन्जिनियरले बदमासी गरेर लक्ड स्पेसिफिकेसन बनाएको देखिए सशस्त्रले छानबिन गर्न सक्छ नै। तर प्रवक्ता न्यौपानेले भने छानबिन गर्नै नमिल्ने पटक-पटक कुतर्क गरे।

सशस्त्र अस्पतालको यो खरिदमा मिलेमतो देखिन्छ, यसमा तपाईँहरूले अब के गर्नुहुन्छ? भन्ने उकेराको जिज्ञासामा सशस्त्रका प्रवक्ता न्यौपानेले भने,‘ त्यो स्वास्थ्य सेवा विभागको उहाँ (मिश्रा)ले त्यो (स्पेसिफिकेसन लक्ड) गर्नु भयो भने हाम्रो हिसाबले हामीले त त्यो केही गर्न सक्ने अवस्था रहँदैन त्यसमा।’

सशस्त्र प्रहरी प्रवक्ता न्यौपानेले थपे,‘किन भने उहाँ पनि नेपाल सरकारको जिम्मेवार हुनसक्छ। तथापि मैले बुझ्ने काम गर्छु। तर, नेपाल सरकारकै अर्को एजेन्सीको मान्छेले गर्नुभएको विषयमा हामीले उठाउने कुरो भएन। नेपाल सरकारकै अर्को एजेन्सीले गरेको विषयमा हामीले केही केही बोल्न मिल्दैन।’

खोजबिन गर्न पनि मिल्दैन र? त्यहाँ अनियमितता नै भएको भन्ने आइसकेपछि खोजबिन गर्न त मिल्दो हो नि! भन्ने उकेराकर्मीको अर्को जिज्ञासामा सशस्त्रका प्रवक्ता न्यौपानेले भने,‘पाइयो। के रहेछ म बुझ्छु। के रहेछ मलाई जानकारी भएन, त्यस्तो रहेछ भने म बुझ्छु।’

 ‘स्किन–सिओटु लेजर’ छालाजन्य समस्या भएको अवस्थामा लेजर प्रविधिबाट उपचार गरिने एक किसिमको प्रविधि (मेसिन) हो। सशस्त्र प्रहरी अस्पतालका प्रमुख डिआइजी डा. रूपक महर्जन छाला रोग विभागका प्रमुख समेत छन्।

उनी विभागीय प्रमुखसँगै अस्पताल प्रमुख समेत भएकाले ‘स्किन–सिओटु लेजर’को खरिदमा डा. महर्जनको समेत प्रत्यक्ष भूमिका हुन्छ नै।

यो टेन्डरको प्राविधिक स्पेशिफिकेशन नै मेसिन उत्पादक कम्पनी ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’सँग मात्रै मिल्ने गरी बनाइएकाले उसैको नेपाली सप्लायर्सले टेन्डर पाउने निश्चित छ।

सशस्त्र प्रहरी अस्पताल खरिद शाखाले मंसिर ९ मा १९ लाख ६० हजार रुपैयाँमा एक सेट ‘स्किन–सिओटु लेजर’ मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो। तर, सो टेन्डर स्वतन्त्र प्रतिस्पर्धा गराउने गरी ननिकाली स्पेसिफिकेसन नै लक्ड गर्दै चाहेकै नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडि बढाएको छ।

 ‘स्किन–सिओटु लेजर’को टेन्डरका लागि एपिएफ अस्पतालले बनाएको स्पेसिफिकेसनका प्राविधिक मापदण्डहरू दक्षिण कोरियाको मेसिन उत्पादक कम्पनी आइडीएस लिमिटेडको ‘स्म्याक्सेल’ मोडलको मेसिनको क्याटलगमा रहेको मापदण्डसँग ठ्याक्कै मिलेको देखिन्छ।

सशस्त्र अस्पतालले टेन्डर आह्वान गरेको ‘स्किन–सिओटु लेजर’को ठेक्का (आइएफबी) नम्बर ‘एपीएफएच–एनसीबी–जी–०३–२०८१–०८२–००६’ हो।

माघ १, २०८१ मंगलबार १८:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।