श्रीमानको तिरस्कारपछि स्थानीयले कर्णाली नदीमा हेलिनबाट जोगाएकी पद्मकन्याले रोजिन् न्यायको बाटो

श्रीमानको तिरस्कारपछि स्थानीयले कर्णाली नदीमा हेलिनबाट जोगाएकी पद्मकन्याले रोजिन् न्यायको बाटो
बजारमा सामान बेच्न हिँडेकी पद्मकन्या। तस्बिर : जगतदल जनाला विक

सुर्खेत : मुगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पद्मकन्या चौलागाइको १२ वर्षकै उमेरमा विवाह भयो तीर्थराज चौलागाइसँग। ६ वर्ष अघि श्रीमानले गाउँकै एक महिलासँग दोस्रो विवाह गरेर गाउँ छोडे।

कक्षा ३ र २ मा पढ्ने दुई सन्तानको पालनपोषण गर्न उनी सहेर गाउँमै बसिन्। तर श्रीमानले पनि छाडेको भन्दै उनलाई सासू-ससुराले घरमा टिक्न दिएनन्। श्रीमानले फोन गरेर घर छाड्न धम्की दिए। अनि २०८० साउन २९ मा उनी घर छाड्न बाध्य भइन्।

कहाँ जाने? जाने ठाउँ छैन। दुई सन्तान लिएर उनी कर्णाली नदीमा हेलिन गइन्। धन्न बेलेमैमा स्थानीयले देखेर सम्झाए। एउटा दुर्घटना टर्यो। उनी छोराहरूलाई लिएर माइती मुगुको सोरु गाउँपालिका गइन्।

माइतीमा बसे। गुजारा चलाइरहेकी थिइन्। श्रीमानले फोन गरेर माइतीलाई अश्लील गाली गर्दै धम्की दिन थाले। विभिन्न आरोप लगाउन थालेपछि उनी माइती गाउँमा बस्न सकिनन्। दुई छोरा च्यापेर सुर्खेतको वीरेन्द्रनगर झरिन्।

सुरुमा सुर्खेतमा दिदीको घरमा बसिन्। श्रीमानले त्यहाँ पनि धम्क्याउन छाडेनन्। अनि छुट्टै कोठा लिएर बसिन्। गुजारा चलाउन केही त गर्नै पर्यो। उनले डोके व्यापार रोजिन्।

खाद्य पसलबाट दाल, सिमी, मास, मुसुरो लगायतका सामान डोकोमा राखेर टोल-टोल डुलेर बेच्न थालिन्। खरिद मूल्यमा २०/२५ रुपैयाँ नाफा राख्दा दुवै छोराको पढाई अनि दैनिक खर्चको जुगाड भइरहेकै थियो।

८ वर्षीय उपेन्द्र र ७ वर्षीय दीपेशको पालनपोषण गर्दै बस्दा पनि सुख पाइनन्। सुर्खेतमा बस्दा पनि श्रीमानले फोन गरेर धम्की दिन छाडेनन्। अन्ततः पद्मकन्या श्रीमान् र घरपरिवारसँग कानुनी लडाइँमा जाने निर्णयमा पुगिन्।

उनले पुस २८ मा श्रीमान् तीर्थ र सौताविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहुविवाहको जाहेरी दिइन्। प्रहरीले पुस २८ मा दुबैलाई नेपालगन्जबाट पक्राउ गरेर अनुसन्धान सुरु गर्यो।

उनले अंश र खाना खर्चसहित सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दिने तयारी गरिरहेकी छिन्।

`मेरो एक मात्र सपना मलाई अन्याय गर्ने श्रीमानलाई कानुनी कठघरामा उभ्याउने र छोराहरूलाई राम्रो शिक्षा दिनु हो। मैले त पढ्न पाइनँ, तर उनीहरूको भविष्य उज्यालो होस् भन्ने चाहन्छु,`उनले उकेरासँग भनिन्,`श्रीमानले यतिसम्म पीडा दिँदा पनि यी छोराहरूको मुख हेरेर बसेकी छु। एक दिन मेरो पनि दिन आउलान्।´

माघ १, २०८१ मंगलबार १७:३६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।