मधेश केन्द्रित दलहरूको पहिलो बैठकले के निर्णय गर्यो ?

मधेश केन्द्रित दलहरूको पहिलो बैठकले के निर्णय गर्यो ?

काठमाडौं : मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन्। मधेश केन्द्रित दलहरूबीच गठित कार्यदलको बैठकले आफूहरूको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो।

धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए। उनले खासगरी बैठकमा छलफलको सुरुवात भएको बताए।

उनले भने, ‘देशको राजनीतिक प्रस्तुति, संविधान संशोधनका कुराहरू र समसामयिक राजनीतिक घटनाक्रमहरूलाई लिएर मधेशबाट प्रतिनिधित्व गर्ने सबै दलहरूका बीचमा एउटा छलफलको सुरुवात भएको दिन हो। यसलाई हामीले निरन्तरता दिने निर्णय समेत गरेका छौं।’

यसैगरी उनले सरकार बनाउनु भन्दा अगाडि दुई दलले गरेको संविधान शंसोधनको कुरामा संविधानमा छुटेका कुराहरू समेट्नुपर्ने आफूहरूको माग रहेको बताए। उनले संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘संविधान संशोधन गर्ने निर्णय दुई दलले गर्नु भएको थियो, सरकार बनाउनु भन्दा अगाडि त्यसमा हाम्रो मान्यता संविधान बनिराख्दा र जारी भइराख्दा मधेश आन्दोलित थियो, मधेशमाथि गोली चलाएर, मधेशमाथि दमन गरेर संविधान जारी गरेको अवस्था थियो। तर संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी मधेशवादी दलहरू थियौं।’ 

उनले अगाडि भने, ‘संशोधन जसलाई चित्त बुझेको छैन, जो अधिकारबाट बन्चित भएका छन्, संशोधन उनीहरुको लागि हुनुपर्छ। तर, संविधानमा सिमान्तकृत जनजातिको हक अधिकारको कुरालाई छोडिएको छ र समेटिन सकिएको छैन। यसबारे संविधानमा समेट्नको लागि छलफल सुरू गरेका हौं।’

यसैगरी उक्त छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सिमान्तकृत वर्गको मुद्धालाई ओझेलमा पार्ने प्रयास भएकाले आफूहरूले झकझकाउन खोजिरहेको बताए। 

उनले मधेश आन्दोलन खत्तम (खराब) हो, पार्टी टुक्रा-टुक्रा भए, अब हामीले जे पनि गर्दा हुन्छ भन्ने सोच हटाउन सरकारलाई अनुरोध समेत गरे।

उनले भने, ‘उनीहरुले के बुझेका छन् भने मधेश आन्दोलन खत्तम (खराब) हो, पार्टी टुक्रा-टुक्रा भए, अब हामीले जे पनि गर्दा हुन्छ उनीहरुको मानसिकतालाई ०६३ सालको आन्दोलनले तोडेको छ। माओवादी जनयुद्ध र मधेश आन्दोलनले तोडेको छ। देशमा त ४७ सालपछि धेरै उपलब्धि भयो तर यी उपलब्धिलाई दुई जनाले समाप्त पार्न खोज्नुभएको छ त्यो हामीलाई स्विकार छैन।’

बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ। सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन्।

बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरूका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए। बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन।

माघ १, २०८१ मंगलबार १६:५३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।