कांग्रेसभित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि बढ्दैछ, त्यसैले यो सरकार ढली नै हाल्छ : प्रचण्ड

कांग्रेसभित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि बढ्दैछ, त्यसैले यो सरकार ढली नै हाल्छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन्। 

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्याए। 

‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ। ढली नै हाल्छ। हामीले धेरै बलै गर्नुपर्दैन। यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ प्रचण्डले भने।

सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको उनको जिकिर छ।

‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनले थपे, ‘नेपाली कांग्रेसभित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरूको, संस्थापनमै भएका नेताहरूको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ। त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठुलो दबाब परेको पनि बताए  

‘अन्तिम समयसम्म संविधानको उपधारा ३ मा सरकार बनाउन तयार हुनुहुन्थ्यो राष्ट्रपतिजी, तर राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि निकै ठुलो धर्मसंकटमा परियो । त्यसो भएपछि उहाँले थाहा पाएरै’, प्रचण्डले भने, ‘तर हामी तुरुन्तै यो सरकार गिराउने र सरकारमा जाने भनेका छैनौं।’

सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको पनि प्रचण्डले बताए। 

‘अहिले हामीले पनि रिल्याक्स गरेका छौं। प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरेको छु’, प्रचण्डले भने, ‘जनताको विश्वास, भरोसा र माया पनि बढेको महसुस हुन्छ।’ 

माघ १, २०८१ मंगलबार १४:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।