क्राइम थ्रिलर फिल्म कङ्गारु टिम सदस्य व्यवसायी हत्या प्रयासको मुख्य योजनाकार, सम्बन्ध विच्छेद गराएको दुस्मनीमा हमला
काठमाडौँ : भदौमा अभिनेत्री स्वस्तिमा खड्कालाई अनुबन्ध गर्दै फिल्म कङ्गारु टिमले यो क्राइम सस्पेन्स जनराको फिल्म भएको जानकारी दियो। फिल्मको निर्देशक सम्राट् बस्नेत थिए। कलाकारमा स्वस्तिमासँगै अर्पण थापा, जितु नेपाल अनि केदार घिमिरे अनुबन्ध भएको सार्वजनिक गरियो।
फिल्मको प्रस्तुतकर्ताका रूपमा गुन्डा नाइके दीपक मनाङे देखिएका थिए भने निर्माण कम्पनी फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्म प्रोडक्सन प्रालि। क्राइम थ्रिलर जनरामा फिल्म बनाउन तातिएको दुई कम्पनीमध्ये एक उत्तरगयाका दुई सञ्चालक अहिले फिल्मको कथामा हैन वास्तविक आपराधिक घटनामा जोडिए।
एक जना व्यवसायी हत्या प्रयासको मुख्य योजनाकारको रूपमा फरार छिन्। एक जना अनुसन्धानको दायरामा तानिए पनि प्रतिवादी हुनबाट जोगिएका छन्। ती हुन् लक्ष्मी राई अनि टिकाराम भण्डारी। टिकाराम प्रदेश सांसद समेत रहेका मनाङेका स्वकिय सचिव समेत हुन्।
कात्तिक ११ मा लाजिम्पाटमा घरजग्गा कारोबारी विक्रम लामालाई फलामले टाउकोमा हानेर हत्याको प्रयास भएको थियो। दुई पटक टाउकोको गम्भीर अप्रेसनपछि उनको ज्यान जोगिएको थियो। विक्रमको हत्या प्रयासको घटनाको अनुसन्धानकोक्रममा क्राइम थ्रिलर फिल्म बनाउन लागेको कम्पनीको सञ्चालक जोडिएका हुन्।
पक्राउ प्रतिवादीमध्येका टिकाराम भण्डारीको बयान अनुसार फिल्म कङ्गारु बनाउने कम्पनी उत्तरदयामा विक्रमको हत्याको मुख्य योजनाकार देखिएकी लक्ष्मी राई समेत सञ्चालक छिन्। सो कम्पनीमा कम्पनीमा लक्ष्मीसँगै धनबहादुर बुढा र रमेश समेत सञ्चालक हुन्।
लक्ष्मी र हत्या प्रयास घटनाका अर्का प्रतिवादी रमेश सिलवालसँग भण्डारीको सम्पर्क र भेटघाट देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।भण्डारीले बयानमा विक्रममाथि हमला गर्ने बारे छलफल गर्न नभई लक्ष्मी र रमेशसँग फिल्म कङ्गारु निर्माणको छलफलको क्रममा भेट भएको बताएका छन्।
लक्ष्मी र रमेशसँग सम्बन्ध देखिएका उनले बयानमा‘ विक्रममाथि आक्रमणको छलफल गर्न नभई उत्तरगया फिल्म कम्पनी, ठमेलमा बन्दै गएको क्लब र चितवनको जग्गाको हिसाबबारे छलफल गर्न गएको’ बताएका छन्।
सम्बन्ध विच्छेद भएको रिसमा हत्या योजना
सोमबार दर्ता भएको अभियोग पत्रमा उल्लेख भए अनुसार श्रीमानलाई कुरा लगाएर सम्बन्ध विच्छेद गराएको भन्दै लक्ष्मीको योजनामा विक्रमको हत्या योजना बनेको देखिन्छ। लक्ष्मी विक्रमको भाउजू थिइन्। उनको दाजु बेलायतमा बस्दै आएका छन्। लक्ष्मीसँग बेलायतमै भेट भएर विवाह भएको देखिन्छ। तर उनी नेपाल आउँदा अपरिचितहरूसँग हिँडडुल गर्ने लगायतका शङ्कास्पद व्यवहार देखेपछि विक्रमले यसबारे दाईलाई जानकारी गराएपछि दुवैको सम्बन्ध विच्छेद भएको थियो।
अभियोग पत्रमा घटनाको कारण विक्रमले दाईलाई ‘भाउजू अपरिचित व्यक्तिहरूसँग हिँड्ने र पैसा खर्च गर्ने गरेको’ भनेको र दुबैबीच सम्बन्ध विच्छेद भएपछि लक्ष्मीले घर बिगारिदिएको भन्दै फोन गरेर गुन्डा लगाएर मार्ने धम्की दिने गरेको उल्लेख छ।
सोमबार दर्ता भएको अभियोग पत्रमा नुवाकोटका अजय लामा, मार्सल भनिने शैलेन्द्र तामाङ, दीपक बरामु, निश्चल सुनार, लक्ष्मी राई, रमेश सिलवाल र सिजल अधिकारीलाई ज्यान मार्ने उद्योगमा प्रतिवादी बनाइएको छ। सात आरोपी भए पनि अधिकारी, सुनार र तामाङ मात्र पक्राउ परेका छन्। अन्य चार जना फरार छन्।
अभियोग पत्रमा समेटिएको पीडित लामाको बयान अनुसार लक्ष्मी राईसँग उनको दाइ सन् २०१४ मा बेलायतमा विवाह भएको थियो। दाइ बेलायतमै बस्ने र भाउजू नेपाल आउजाउ गरिरहन्थिन्। उनी नेपाल आउँदा अपरिचित व्यक्तिहरूसँग हिँड्ने र पैसा खर्च गर्ने गरेको भन्दै उनले बेलायतमा रहेको दाईलाई भनेपछि सन् २०२२ मा दुवैको सम्बन्ध विच्छेद भएको थियो।
सम्बन्ध विच्छेदपछि लक्ष्मीले फोन गरेर घरबार बिगारेको भन्दै फोन गरेर धम्की दिने गरेकी थिइन्। उनको हत्याको योजनासहित आक्रमण हुनु अगाडि सुन तस्करी र लागुऔषध कारोबारमा फसाउने प्रयास भएको अभियोग पत्रको विवरणमा देखिन्छ।
यही बिचमा लामाविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा सुन तस्करीमा संलग्न रहेको भन्दै उजुरी पर्यो। ब्युरोले उनलाई बोलाएर सोधपुछ गर्यो। लागुऔषध अनुसन्धान ब्युरोमा उनी लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै उजुरी परेपछि ब्युरोले उनको घरमा खानतलासी लिएको थियो।
‘मलाई कहिले सुन तस्करी त कहिले लागुऔषधमा फसाउने भन्दै धम्कीहरू आइरहन्थे,’ उनले बयानमा भनेका छन् ‘ त्यसपछि मैले केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिएँ।’
मंसिर ११ मा लामा नियमित रूपमा लाजिम्पाटमा रहेको कार्यालय गए। साढे ११ बजेतिर कार्यालय नजिकै पुगेका उनले इनोभा अस्पतालमा गाडी पार्क गरेर गाडीबाट निस्किए लगत्तै मुखमा मास्क लगाएका दुई जनाले उनको टाउकोमा फलामले प्रहार गरेका थिए।
उनी लडेपछि फलामले उनको खुट्टा, टाउको लगायतका भागमा हानेपछि उनी बेहोस भए। आक्रमणकारीहरू भागे। लामामाथि जसरी आक्रमण भएको थियो त्यसको नियत घाइते मात्र बनाउने उद्देश्य देखिन्न।
गम्भीर घाइते भएका लामाको प्रारम्भमा नजिकै रहेको इनोभा अस्पतालमा उपचार गरेर पछि ग्रिनसिटी अस्पतालमा उपचार भएको थियो। उनको टाउकोको दुई पटक गम्भीर शल्यक्रिया गर्नु परेको थियो। उनको खुट्टाको हड्डीहरू चर्किएका थिए।
निश्चल सुनार, मार्सल भन्ने शैलेन्द्र तामाङ अनि टिकाराम भण्डारीको बयानबाट अजय लामाले विक्रमसँग आफ्नो पुरानो दुस्मनी रहेको र एक दिन मिलाएर आक्रमण गर्नुपर्छ भनेर योजना बनाएको देखिन्छ। उनले विक्रमलाई जहाँ भेट्यो त्यहीँ फलामको रडले हान्ने योजना बनाएका थिए। अजयले नै विक्रमलाई हान्न मोटरसाइकलको सक दिएको देखिन्छ।
आक्रमणको क्रममा विक्रमको टाउकोबाट रगत आएको र वरपरका मान्छेले मान्छे मारे भनेर कराएपछि त्यहाँबाट भागेर गोर्खा पुगेका थिए। गोर्खा पुगेर उनीहरू झापा पुगे। बिर्तामोडमा पुगेर उनीहरू दुर्गाप्रसाद प्रसाईँको घरमा बसेका थिए। उनीहरूले प्रसाईँको बिर्तामोडमा रहेको घरमा कोठा भाडामा लिएर बसेको दाबी गरेका छन्।
पुष २९, २०८१ सोमबार २३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।