१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ

१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ

सर्लाही : किशोर अपहरणमा संलग्न भएको आरोपमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज ब्रह्मपुरी गाउँपालिका-४, बाट उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका-४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेको जिल्ला प्रहरीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

एक १५ वर्षीय किशोरको भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागिरहेको उजुरीको आधारमा प्रहरीले छापा मारेको थियो। 

त्यस क्रममा बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकलमा भाग्दै गरेका विक्रम पासवान र प्रवचन साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, गोली दुई राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हथौडा एक/एक थान बरामद गरेको छ। 
    
पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई प्रहरीले पक्राउ गरेको हो। अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। 

पुष २९, २०८१ सोमबार २२:०१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।